काठमाण्डौ । धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्योट निर्धारित समयभित्र पूरा नगरेपछि मनि वर्ल्ड सेयर एक्सचेन्ज प्रालि नेप्सेको कारबाहीमा परेको छ। नेपाल स्टक एक्सचेन्जले ब्रोकर नम्बर ७३ का रूपमा कारोबार गर्दै आएको कम्पनीलाई तीन कार्यदिनका लागि निलम्बन गरेको हो।
सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले कम्पनीबाट समयमै राफसाफ तथा फर्छ्योट नभएको भन्दै कारबाहीको सिफारिस गरेको थियो। सीडीएससीको मंसिर ९ गतेको पत्रका आधारमा नेप्सेले कारबाही अघि बढाउँदै मंसिर १० गते कम्पनीलाई निलम्बनसम्बन्धी पत्र पठाएको हो।
नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२(१)(छ) अन्तर्गत कम्पनीको कारोबार निलम्बन गरेको जनाएको छ। कारबाहीको अवधि तीन कार्यदिन तोकिएको छ।
निलम्बन कायम रहँदासम्म लगानीकर्ताले उक्त ब्रोकरमार्फत सेयर किनबेच गर्न पाउने छैनन्। यस अवधिमा कारोबार गर्न चाहने ग्राहकका लागि कम्पनीले अर्को ब्रोकरमार्फत किनबेचको व्यवस्था मिलाउनुपर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।