काठमाण्डौ । मूल्यवृद्धिको दबाब नियन्त्रण गर्न दक्षिण कोरियाको केन्द्रीय बैंकले नीतिगत ब्याजदर बढाएर ३.२५ प्रतिशत पुर्याएको छ। बैंक अफ कोरियाले बिहीबार ब्याजदर २५ आधार बिन्दु अर्थात् ०.२५ प्रतिशत बिन्दुले बढाएको हो। यसअघि यस्तो दर ३ प्रतिशत थियो।
यो पछिल्लो दुई वर्षयताकै उच्च ब्याजदर हो। जुलाई र अगस्टमा लगातार दर बढाएको बैंकले अक्टोबरमा भने यथावत् राखेको थियो। मूल्यवृद्धि लक्ष्यभन्दा माथि रहेपछि बैंकले पुनः मौद्रिक नीतिमा कडाइ गरेको हो।
गत अक्टोबरमा दक्षिण कोरियाको वार्षिक उपभोक्ता मुद्रास्फीति २.८ प्रतिशत थियो, जुन केन्द्रीय बैंकको २ प्रतिशतको लक्ष्यभन्दा माथि हो। खाद्य तथा ऊर्जाको मूल्य प्रभाव हटाएर गणना गरिने मूल मुद्रास्फीति पनि २.८ प्रतिशत नै रहेको बैंकले जनाएको छ।
मुद्रास्फीतिको चुनौतीबीच बैंकले आर्थिक वृद्धिको प्रक्षेपण भने माथि संशोधन गरेको छ। दक्षिण कोरियाको अर्थतन्त्र सन् २०२६ मा ३.९ प्रतिशत र सन् २०२७ मा ४.१ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। अगस्टमा यी दर क्रमशः ३.३ प्रतिशत र २.९ प्रतिशत रहने प्रक्षेपण थियो।
कृत्रिम बुद्धिमत्ता अर्थात् एआईसम्बन्धी विश्वव्यापी लगानी र सेमिकन्डक्टरको माग बढ्दा निर्यात तथा लगानीले गति लिएकाले वृद्धिको अनुमान बढाइएको हो। चिप उद्योगको विस्तारसँगै आम्दानीमा सुधार र सरकारी खर्च वृद्धिले आन्तरिक उपभोगलाई पनि क्रमशः बलियो बनाउने बैंकको अपेक्षा छ।
सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सजस्ता प्रमुख चिप उत्पादक रहेको दक्षिण कोरियाको वार्षिक निर्यात यसै महिना पहिलोपटक एक ट्रिलियन अमेरिकी डलर नाघेको छ। एआई प्रविधिको विस्तारसँगै बढेको सेमिकन्डक्टरको मागले निर्यात वृद्धिमा महत्वपूर्ण योगदान दिएको हो।
यद्यपि, मध्यपूर्वको तनाव र उच्च ऊर्जा मूल्यका कारण मुद्रास्फीतिको दबाब केही समय कायम रहने बैंकले औँल्याएको छ। आगामी आर्थिक वृद्धिको गति सेमिकन्डक्टर उद्योगको विस्तारले घरेलु मागमा पार्ने प्रभाव तथा मध्यपूर्वको अवस्थालगायत विषयमा निर्भर रहने बैंकको भनाइ छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।