काठमाण्डौ। थाइल्यान्डको राजधानी बैंककस्थित प्रमुख तेल प्रशोधन केन्द्रमा शक्तिशाली विस्फोट भएको छ। बिहीबार दिउँसो भएको विस्फोटपछि आगलागी हुँदा आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे विस्फोट भएको हो। घटनालगत्तै बैंकक प्रशासनले मोबाइल फोनमार्फत आपत्कालीन सतर्कता सूचना पठाउँदै सर्वसाधारणलाई घटनास्थल आसपास नजान र सुरक्षित स्थानमा रहन आग्रह गरेको थियो।
बैंकक महानगर प्रशासनका अनुसार विस्फोटपछि लागेको आगो एक घण्टाभन्दा कम समयमै नियन्त्रणमा लिइएको छ। घटनाबाट तत्काल कुनै मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। विस्फोटको कारण भने खुल्न सकेको छैन।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा बैंककको पूर्वी क्षेत्रमा रहेको प्रशोधन केन्द्रबाट बाक्लो कालो धुवाँको मुस्लो उडिरहेको देखिएको छ।
विस्फोट भएको तेल प्रशोधन तथा भण्डारण केन्द्र बङ्गचाक कर्पोरेसनको स्वामित्वमा रहेको बताइएको छ। कम्पनीले घटनाबारे तत्काल औपचारिक प्रतिक्रिया दिएको छैन।
उक्त प्रशोधन केन्द्रको दैनिक एक लाख २० हजार ब्यारेल कच्चा तेल प्रशोधन गर्ने क्षमता छ। यो थाइल्यान्डको पाँचौँ ठूलो तेल प्रशोधन केन्द्र हो। सहरी क्षेत्रमा अवस्थित देशको प्रमुख प्रशोधन केन्द्रमध्ये यो एक हो।
यसअघि सन् २०१२ को जुलाईमा पनि सोही केन्द्रमा विस्फोटसँगै आगलागी भएको थियो। त्यसबेला नजिकैका आवासीय क्षेत्रमा क्षति पुगेको थियो भने प्रशोधन केन्द्रको मर्मत गर्न करिब दुई साता लागेको थियो।
पछिल्लो विस्फोटबाट प्रशोधन क्षमता तथा तेल आपूर्तिमा कस्तो असर परेको छ भन्नेबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।