काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को वरीयताक्रम हेरफेर गरिएको छ। नयाँ वरीयताअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तेस्रो स्थानमा पुगेकी छन्।
प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका हुन्।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम २०८२ चैत १३ गते गठित मन्त्रिपरिषद्को वरीयताक्रम परिवर्तन गरिएको हो।
यसअघि सातौँ वरीयतामा रहेकी गौतम एकैपटक चार स्थान माथि उक्लिँदै तेस्रो वरीयतामा पुगेकी हुन्।
नयाँ मर्यादाक्रममा प्रधानमन्त्री शाह पहिलो र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो स्थानमा यथावत् छन्।
यसअघि तेस्रो वरीयतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल चौथो स्थानमा पुगेका छन्। त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ र गृहमन्त्री सुधन गुरुङ छैटौँ स्थानमा रहेका छन्।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई सातौँ तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई आठौँ वरीयतामा राखिएको छ।
१७ सदस्यीय मन्त्रिपरिषद्का अन्य मन्त्रीहरूको मर्यादाक्रम भने यथावत् राखिएको छ।
प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन्।
मन्त्रिपरिषद्को नयाँ वरीयतामा गौतमको उल्लेख्य बढुवा भएको छ भने परराष्ट्रमन्त्री खनालसहित केही मन्त्रीको स्थान पछाडि सरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।