काठमाण्डौ। रामेछाप हुँदै सोलुखुम्बुको सगरमाथा आधार शिविर जोड्ने हिमाली पर्यटन राजमार्ग निर्माणका लागि ५ अर्ब रुपैयाँको बजेट स्रोत सुनिश्चित भएको छ। पूर्वाधार विकास मन्त्रालयले पर्यटन प्रवर्द्धन र क्षेत्रीय आर्थिक गतिविधि विस्तारका लागि महत्वपूर्ण मानिएको उक्त आयोजनालाई प्राथमिकतामा राखेको हो।
स्रोत सुनिश्चित भएसँगै रामेछापलाई सगरमाथा क्षेत्रको प्रमुख पर्यटकीय प्रवेशद्वारका रूपमा विकास गर्ने योजनाले गति लिने अपेक्षा गरिएको छ।
रामेछापका संघीय सांसद तथा प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले आयोजनाका लागि बजेट स्रोत सुनिश्चित हुनु जिल्लाको विकासका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
उनका अनुसार प्रस्तावित सडकले रामेछाप र सोलुखुम्बुबीचको यातायात पहुँच विस्तार गर्नुका साथै हिमाली पर्यटन, स्थानीय उत्पादनको बजारीकरण, होटल तथा पर्यटन व्यवसाय र रोजगारी सिर्जनामा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
‘यो आयोजना रामेछापको समृद्धिसँग मात्र नभई नेपालको पर्यटन विकास, आर्थिक गतिविधि विस्तार र राष्ट्रिय समृद्धिसँग जोडिएको छ,’ बुढाथोकीले भने।
उनले आयोजना प्रभावकारी रूपमा कार्यान्वयन भए भविष्यमा रामेछाप हुँदै सगरमाथा आधार शिविरसम्म सडकमार्गबाट यात्रा सहज हुने विश्वास व्यक्त गरे।
सगरमाथा क्षेत्र अन्तर्राष्ट्रिय पर्यटकको प्रमुख आकर्षणका रूपमा रहँदै आएको छ। प्रस्तावित राजमार्ग निर्माणले पर्यटकको आवागमन सहज बनाउनुका साथै सडक आसपासका बस्तीमा व्यापार, पर्यटन सेवा र अन्य आर्थिक गतिविधि विस्तार गर्ने सम्भावना रहेको छ।
यद्यपि, आयोजनाका लागि बजेटको स्रोत सुनिश्चित भए पनि निर्माण सुरु हुने मिति, सम्पन्न गर्ने समयसीमा र विस्तृत निर्माण कार्यतालिकाबारे जानकारी सार्वजनिक गरिएको छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।