काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले स्वदेशी तथा विदेशी लगानीकर्ताको विश्वास बढाउन सरकारले आवश्यक नीतिगत तथा कानुनी सुधार गर्ने बताएका छन् ।
बिहीबार काठमाण्डौमा आयोजित यूके–नेपाल बिजनेस फोरमलाई सम्बोधन गर्दै मन्त्री साहले लगानीका अवसर मात्र भएर नपुग्ने भन्दै नीतिगत स्थिरता, पारदर्शिता, विश्वास र छिटो निर्णय गर्ने सरकारी संयन्त्र आवश्यक रहेको बताए ।
उनले दोहोरो कर हटाउने सम्झौता, कर नीतिमा स्थिरता, विदेशी लगानीकर्ताले नाफा फिर्ता लैजाने प्रक्रिया, बौद्धिक सम्पत्तिको संरक्षण तथा निर्यात सहजीकरणलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए । यी विषयमा अर्थ मन्त्रालय तथा सम्बन्धित सरकारी निकायसँग समन्वय भइरहेको उनको भनाइ छ ।
मन्त्री साहले आगामी ३० देखि ९० दिनभित्र नेपाली तथा बेलायती व्यवसायीका प्रमुख समस्या, लगानी प्रस्ताव र नियामकीय अवरोध पहिचान गरी समाधानका उपाय अघि बढाउने योजना रहेको बताए ।
विदेशी लगानीकर्तालाई पुँजीको स्रोतका रूपमा मात्र नभई दीर्घकालीन आर्थिक साझेदारका रूपमा सरकारले स्वागत गर्ने उल्लेख गर्दै उनले संयुक्त लगानी, प्रविधि साझेदारी तथा उत्पादनमूलक क्षेत्रमा सहकार्य गर्न आह्वान गरे ।
बेलायतमा रहेका नेपाली समुदायलाई समेत लगानी, विशेषज्ञता, नवीन प्रविधि र ज्ञान हस्तान्तरणमार्फत दुई देशको आर्थिक सम्बन्ध विस्तारमा भूमिका खेल्न उनले आग्रह गरे ।
मन्त्री साहले नवीकरणीय ऊर्जा, जलविद्युत्, सूचना प्रविधि, हरित प्रविधि, उत्पादनमूलक उद्योग, दिगो पूर्वाधार, सेवा तथा पर्यटन क्षेत्रमा नेपाल र बेलायतबीच लगानी तथा व्यावसायिक साझेदारीका पर्याप्त अवसर रहेको बताए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।