काठमाण्डौ । जग्गाको हकभोगसम्बन्धी अभिलेख हेरफेर गरी अर्कै व्यक्तिका नाममा दर्ता गराएको आरोपमा सर्लाहीको भूमिसुधार तथा मालपोत कार्यालयका तत्कालीन प्रमुख पनिलाल यादवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत लिखत तयार गरेको, सरकारी कागजात अनधिकृत रूपमा सच्याएको तथा गलत प्रतिवेदन दिएको आरोपमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
प्रतिवादी बनाइएकामा तत्कालीन कार्यालय प्रमुख यादव, तत्कालीन नायब सुब्बा टुकराम कोइराला र तत्कालीन खरिदार राजेश कुमार झा छन्। त्यस्तै, ईश्वरपुर नगरपालिका–१५ का तत्कालीन वडाध्यक्ष कपिलदेव चौधरी र तत्कालीन वडा सचिव राम गुलाम रायलाई पनि प्रतिवादी बनाइएको छ।
जग्गा प्राप्त गर्ने किशोरी धामी थारू तथा जग्गा प्राप्त गर्न सिफारिस र निवेदन दिने भोला धामी थारूविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
अख्तियारका अनुसार साविक सोकनाहा गाविस–२(ख) स्थित कित्ता नम्बर ६२ को जग्गा नक्कली जग्गाधनी पुर्जा बनाएर बेचबिखन गरिएको भन्ने उजुरी परेको थियो। कर्मचारी र अन्य व्यक्तिको मिलेमतोमा उक्त कार्य भएको उजुरीपछि आयोगले अनुसन्धान अघि बढाएको हो।
अनुसन्धानका क्रममा रामदेव बैठा र राजदेव बैठाको हकभोगमा रहेको जग्गालाई किशोरी धामी थारू र भोला धामी थारूको हकभोगमा रहेको देखाउन कार्यालयको अभिलेख फेरबदल गरिएको आयोगको दाबी छ। उक्त जग्गामा उनीहरूको कुनै समय पनि हकभोग नरहेको अख्तियारले जनाएको छ।
आयोगका अनुसार वास्तविक तथ्य लुकाएर हुँदै नभएका विवरण खडा गरी स्रेस्ता र जग्गाधनी पुर्जा तयार गरिएको थियो। त्यसपछि किशोरी धामी थारूका नाममा दाखिल खारेज गरी जग्गा दर्ता गराइएको आरोप छ।
प्रतिवादीहरूले आपसी मिलेमतोमा आफूहरूलाई गैरकानुनी लाभ र वास्तविक हकवालालाई हानिनोक्सानी पुर्याउने उद्देश्यले गलत लिखत तयार गर्नुका साथै सरकारी कागजातमा अनधिकृत हेरफेर तथा थपघट गरेको अख्तियारको आरोप छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।