काठमाण्डौ । झापाको बुद्धशान्ति गाउँपालिकाका कृषकले कृषि तथा पशुपन्छी बीमा गर्न समस्या भएको र दाबी भुक्तानी प्रक्रिया झन्झटिलो बनेको गुनासो गरेका छन्। स्थानीय सरकारका प्रतिनिधिले पनि बीमाको पहुँच विस्तारसँगै दाबी भुक्तानी सहज बनाएर बीमितको विश्वास बढाउन आग्रह गरेका छन्।
नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले बुधबार आयोजना गरेको स्थानीय सरकारसँग बीमा प्रवर्द्धनसम्बन्धी छलफल तथा अन्तरक्रियामा सहभागीले बीमा गर्दादेखि दाबी भुक्तानी लिँदासम्मका समस्या उठाएका हुन्।
बुद्धशान्ति गाउँपालिका–३ का कृषक खेमराज बास्तोलाले धान र कोबीको बीमा गर्न देखिएका समस्याबारे प्रश्न उठाए। सहभागी कृषकले गाईको वास्तविक मूल्यअनुसार बीमा गर्न कम्पनीहरूले आनाकानी गर्ने गरेको तथा दाबी भुक्तानीका लागि झन्झट बेहोर्नुपरेको गुनासो गरे। उनीहरूले गोठ र कृषि उत्पादनको बीमा गर्ने प्रक्रियाबारे पनि जिज्ञासा राखेका थिए।
कार्यक्रममा केही सहभागीले कोरोना बीमाको रकम अझै प्राप्त नभएको गुनासोसमेत गरेका थिए।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार साहले बीमाको पहुँच विस्तार गरेर मात्र पर्याप्त नहुने भन्दै बीमितको विश्वास कायम गर्नुपर्नेमा जोड दिए। विश्वासविना बीमा दिगो हुन नसक्ने उनको भनाइ थियो।
साहले गत जेनजी आन्दोलनमा भएको क्षतिसम्बन्धी बीमा दाबीको भुक्तानी ढिलो भएको विषय उठाउँदै गुनासो तत्काल सम्बोधन गर्ने व्यवस्था आवश्यक रहेको बताए। उनले बीमासम्बन्धी जनचेतना र पहुँच विस्तारका लागि गाउँपालिकाले प्राधिकरणसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाए।
गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडाले स्थानीय सरकारसँगको सहकार्यमा सञ्चालन गरिएका बीमा सचेतना कार्यक्रम प्रभावकारी रहेको बताए। यस्ता कार्यक्रमलाई आगामी दिनमा थप नागरिकसम्म पुर्याउनुपर्नेमा उनले जोड दिए।
सहभागीका प्रश्नको जवाफ दिँदै नेपाल बीमा प्राधिकरणका कोशी प्रदेश प्रमुख राजेन्द्र महर्जनले कृषि तथा पशुपन्छी बीमाका समस्या, दाबी भुक्तानीमा ढिलाइ र बीमा कम्पनीसँग सम्बन्धित गुनासोलाई प्राधिकरणले गम्भीरतापूर्वक लिएको बताए। ती समस्या सम्बोधनका लागि आवश्यक नियमन र सहजीकरण गरिने उनको भनाइ थियो।
महर्जनले स्थानीय तहमा बीमाको अवस्था पहिचान गर्ने, पहुँच विस्तार गर्ने तथा नागरिकमा जनचेतना बढाउने उद्देश्यले स्थानीय सरकारसँगको सहकार्यलाई निरन्तरता दिइएको जानकारी दिए।
उपाध्यक्ष खतिवडाको प्रमुख आतिथ्यता तथा प्रादेशिक प्रमुख महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्राधिकरणकी सहायक निर्देशक सविता झाले गरेकी थिइन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।