काठमाण्डौ। मध्यपूर्वमा जारी तनावबीच विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलक्षेत्रमा दुईवटा तेल ट्याङ्करमा विस्फोटपछि आगलागी भएको छ। ओमानको खसाब बन्दरगाह नजिकै समुद्री धरापमा ठोक्किएर ती जहाजमा आगलागी भएको इरानले दाबी गरेको हो।
इरानको इस्लामिक रिभल्युसनरी गार्ड कोर (आईआरजीसी) ले ती ट्याङ्करले अनुमति नलिई जलमार्ग पार गर्ने प्रयास गर्दा विस्फोट भएको जनाएको छ।
आईआरजीसीको नौसेनाले जारी गरेको विज्ञप्तिअनुसार पहिचान नखुलेका दुवै जहाजले आफ्नो नेभिगेसन प्रणाली बन्द गरी गोप्य रूपमा हर्मुज जलक्षेत्र पार गर्न खोजेका थिए।
इरानको सरकारी सञ्चारमाध्यम प्रेस टीभीका अनुसार समुद्री धरापमा परेका ट्याङ्करमध्ये एउटामा करिब २० लाख ब्यारेल कच्चा तेल लोड गरिएको थियो।
आईआरजीसीले अमेरिकी सेनाका लडाकु विमानहरूको संरक्षणमा ती जहाजले लुकीछिपी जलक्षेत्र पार गर्न खोजेको आरोपसमेत लगाएको छ। यद्यपि, उक्त आरोपको स्वतन्त्र पुष्टि भएको छैन।
इरानी नौसेनाका अनुसार अनधिकृत मार्गमा बिछ्याइएका समुद्री धरापमा ठोक्किएपछि दुवै ट्याङ्करमा विस्फोट र आगलागी भएको थियो। घटनापछि जहाजहरूको आवागमन रोकिएको जनाइएको छ।
पछिल्ला साताहरूमा हर्मुज जलक्षेत्रमा पानीजहाजको आवागमनलाई लिएर तनाव बढ्दै गएको छ। इरानको अनुमतिबिना जलमार्ग पार गर्न खोज्ने जहाजमाथि अवरोध तथा आक्रमणका घटना बढेको इरानी पक्षको दाबी छ।
हर्मुज जलक्षेत्र विश्वव्यापी कच्चा तेल ढुवानीको प्रमुख रणनीतिक मार्ग हो। मध्यपूर्वका तेल उत्पादक मुलुकबाट अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने ठूलो परिमाणको कच्चा तेल यही मार्ग हुँदै ढुवानी गरिन्छ।
यस क्षेत्रमा बढ्दो सुरक्षा जोखिमले अन्तर्राष्ट्रिय समुद्री व्यापार, कच्चा तेलको आपूर्ति र विश्व ऊर्जा बजारमा थप अनिश्चितता सिर्जना गर्न सक्ने चिन्ता बढाएको छ।
घटनामा मानवीय क्षति भए–नभएको तथा प्रभावित ट्याङ्करहरूको पछिल्लो अवस्थाबारे विस्तृत विवरण सार्वजनिक भएको छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।