काठमाण्डौ। सरकारले मुलुकको ऊर्जा क्षेत्रको दीर्घकालीन विकास र व्यवस्थापनका लागि नयाँ राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उच्चस्तरीय समिति गठन गरेका हुन्।
जल तथा ऊर्जा आयोगका सचिवको संयोजकत्वमा गठित समितिमा ऊर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधि तथा विज्ञहरू समावेश छन्। समितिलाई २१ दिनभित्र राष्ट्रिय ऊर्जा नीतिको अवधारणासहित प्रारम्भिक मस्यौदा तयार गरी सरकारसमक्ष पेस गर्ने जिम्मेवारी दिइएको छ।
समितिले मुलुकको ऊर्जा क्षेत्रको वर्तमान अवस्था, उपलब्ध स्रोतसाधन, उत्पादन क्षमता, भविष्यको माग तथा विकासका सम्भावनाको अध्ययन गरी आगामी नीतिगत प्राथमिकता तय गर्नेछ।
नयाँ नीतिमा ऊर्जा उत्पादन, प्रसारण, वितरण, आन्तरिक खपत तथा अन्तरदेशीय विद्युत् व्यापारलाई एकीकृत रूपमा समेट्ने सरकारको तयारी छ।
नेपालमा जलविद्युत् उत्पादनको सम्भावना उच्च रहे पनि विद्युत् उत्पादन र खपतबीचको सन्तुलन, प्रसारण पूर्वाधार विस्तार, लगानी व्यवस्थापन तथा अन्तरदेशीय विद्युत् व्यापारमा विभिन्न चुनौती देखिँदै आएका छन्।
यस्ता चुनौतीलाई दीर्घकालीन रूपमा सम्बोधन गर्दै ऊर्जा क्षेत्रको विकासलाई व्यवस्थित बनाउने उद्देश्यले नयाँ नीति निर्माण गर्न लागिएको हो।
सरकारले स्पष्ट नीतिगत मार्गदर्शन, दीर्घकालीन योजना तथा सरोकारवाला निकायबीच समन्वय कायम गरी ऊर्जा क्षेत्रको समग्र विकासलाई गति दिने लक्ष्य राखेको छ।
समितिले पेस गर्ने मस्यौदाका आधारमा राष्ट्रिय ऊर्जा नीतिलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।