काठमाण्डौ । आफूलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) बताउँदै मुद्दा मिलाइदिने नाममा २ लाख रुपैयाँ माग गरेको आरोपमा काठमाण्डौबाट पाँच जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार प्रहरी कार्यालयमा सोधपुछका लागि बोलाइएका एक व्यक्तिलाई मुद्दा नचलाइ छुटाइदिने प्रलोभन देखाउँदै रकम मागेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा ओखलढुंगाको मोलुङ गाउँपालिका–२ घर भई काठमाण्डौको चाबहिल बस्ने ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापको लिखु गाउँपालिका–१ घर भई कपन बस्ने २९ वर्षीय इन्द्रबहादुर भुजेल र पाल्पाको तानसेन नगरपालिका–६ घर भई हात्तीडाँडा बस्ने ३३ वर्षीय धिरज रानाभाट रहेका छन्।
त्यस्तै, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ घर भई भक्तपुरको दुवाकोट बस्ने २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीको मरिण गाउँपालिका–२ घर भई काभ्रेको बनेपा बस्ने ३० वर्षीय हर्क सिंह भोलन पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार गत बिहीबार दिउँसो प्रहरी प्रभाग काँडाघारीले एक व्यक्तिलाई सोधपुछका लागि बोलाएको थियो। ती व्यक्तिलाई भेट्न उनका भाइ प्रहरी कार्यालय पुगेका थिए।
सोही क्रममा प्रहरी कार्यालय आसपास रहेका एक युवकले आफू प्रहरी निरीक्षक भएको दाबी गर्दै दाजुलाई मुद्दा नचलाइ छुटाइदिने आश्वासन दिएका थिए।
त्यसका लागि उनले २ लाख रुपैयाँ माग्नुका साथै होटलको खर्चसमेत व्यहोर्न दबाब दिएको प्रहरीको भनाइ छ।
तर, ती युवकले रकम दिन अस्वीकार गरेपछि आरोपितहरूले विभिन्न धाकधम्की दिएको बताइएको छ।
घटनाबारे जानकारी पाएपछि प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित वीरेन्द्रचोकबाट पाँचै जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको भूमिका तथा रकम माग गरिएको घटनाबारे थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।