काठमाण्डौ । बजारमा बिक्री भइरहेको दूधको गुणस्तरमाथि प्रश्न उठेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको बजार अनुगमनका क्रममा परीक्षण सम्पन्न भएका दूधका ५४ नमुनामध्ये ९ वटा गुणस्तर मापदण्डविपरीत पाइएको हो।
विभाग तथा मातहतका कार्यालयहरूले पाँच दिनको अवधिमा देशका विभिन्न स्थानमा सञ्चालित ११५ वटा डेरी पसल तथा दुग्ध व्यवसायको अनुगमन गरेका थिए।
अनुगमनका क्रममा दूध तथा दुग्धजन्य पदार्थका कुल १२९ वटा नमुना संकलन गरिएको विभागले जनाएको छ।
संकलित नमुनामध्ये हालसम्म ५४ वटाको परीक्षण सम्पन्न हुँदा ९ वटा प्रतिकूल देखिएका हुन्। यो परीक्षण सम्पन्न भएका नमुनाको करिब १६.७ प्रतिशत हो।
गाई, भैँसी र मिश्रित दूधमै समस्या
विभागका अनुसार परीक्षणमा प्रतिकूल पाइएका नमुनामध्ये ३ वटा गाईको दूध, ३ वटा भैँसीको दूध र ३ वटा मिश्रित दूधका रहेका छन्।
अनुगमनका क्रममा ७ वटा खुला गाईको दूध, १३ वटा खुला भैँसीको दूध र ७४ वटा खुला मिश्रित दूधको नमुना संकलन गरिएको थियो।
यस्तै, दुग्धजन्य पदार्थतर्फ ३१ वटा दही, ३ वटा पनिर र एउटा खुवाको नमुनासमेत संकलन गरिएको विभागले जनाएको छ।
संकलित नमुनामा दूधमा पाइने चिल्लो पदार्थ (फ्याट), चिल्लोबाहेकका ठोस पदार्थ अर्थात् एसएनएफ (SNF) तथा सम्भावित मिसावटका विषयमा प्रयोगशाला परीक्षण गरिएको थियो।
अझै ७५ नमुनाको प्रतिवेदन आउन बाँकी
विभागका अनुसार संकलित १२९ नमुनामध्ये ५४ वटाको मात्रै परीक्षण प्रतिवेदन प्राप्त भएको छ। बाँकी ७५ वटा नमुनाको परीक्षण तथा विश्लेषण प्रक्रिया जारी छ।
बाँकी नमुनाको प्रतिवेदन सार्वजनिक भएपछि मात्रै अनुगमनमा संकलित दूध तथा दुग्धजन्य पदार्थको गुणस्तरसम्बन्धी समग्र अवस्था थप स्पष्ट हुनेछ।
दैनिक उपभोग हुने अत्यावश्यक खाद्यवस्तु दूधकै नमुना गुणस्तर मापदण्डविपरीत भेटिनुले उपभोक्ताको स्वास्थ्य सुरक्षा र बजार अनुगमनको प्रभावकारितामाथि चासो बढाएको छ।
यद्यपि, प्रतिकूल भेटिएका नमुनामा फ्याट वा एसएनएफको मात्रा नमिलेको हो अथवा अन्य प्रकारको मिसावट पुष्टि भएको हो भन्ने विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
परीक्षणमा प्रतिकूल भेटिएका नमुनासँग सम्बन्धित व्यवसायमाथि कस्तो कारबाही अघि बढाइएको छ भन्ने विषयमा पनि विभागले थप विवरण दिएको छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।