काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ७५ करोड रुपैयाँ बराबरका नयाँ सिक्का बजारमा ल्याउने तयारी थालेको छ। केन्द्रीय बैंकले चलनचल्तीका लागि ५ रुपैयाँ दरका १५ करोड थान नयाँ सिक्का उत्पादन गर्ने प्रक्रिया अघि बढाएको हो।
नयाँ सिक्काको डिजाइन, टकमरी, आपूर्ति तथा ढुवानीका लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।
राष्ट्र बैंकले योग्य अन्तर्राष्ट्रिय सिक्का उत्पादक तथा सुरक्षा मुद्रण कम्पनीहरूबाट प्रतिस्पर्धाका आधारमा प्रस्ताव माग गरेको हो।
बोलपत्र प्रक्रिया 'सिंगल स्टेज टु इन्भेलप' प्रणालीअनुसार सञ्चालन हुनेछ। यस प्रणालीअन्तर्गत इच्छुक कम्पनीहरूले प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी खाममा पेस गर्नुपर्नेछ।
राष्ट्र बैंकका अनुसार इच्छुक कम्पनीहरूले सन् २०२६ डिसेम्बर २८ सम्म बोलपत्रसम्बन्धी कागजात खरिद गर्न सक्नेछन्। प्रस्ताव पेस गर्ने अन्तिम समय भने डिसेम्बर २९ तारिख दिउँसो १२ बजेसम्म तोकिएको छ।
प्राप्त बोलपत्रहरू सोही दिन दिउँसो १ बजे खोलिनेछन्।
यस्तै, बोलपत्र प्रक्रियाबारे आवश्यक जानकारी दिन डिसेम्बर ११ मा राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा पूर्वबोलपत्र बैठक आयोजना गरिने भएको छ।
बोलपत्रमा सहभागी हुन चाहने कम्पनीहरूले कम्तीमा १ लाख २७ हजार अमेरिकी डलर बराबरको बैंक जमानत पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। यस्तो जमानतको वैधता अवधि १५० दिनको हुनुपर्नेछ।
राष्ट्र बैंकले सार्वजनिक खरिद ऐनअनुसार कालोसूचीमा परेका व्यक्ति, संस्था तथा कम्पनीहरूलाई बोलपत्र प्रक्रियामा सहभागी हुन नपाउने स्पष्ट पारेको छ।
५ रुपैयाँ दरका १५ करोड थान सिक्काको कुल अंकित मूल्य ७५ करोड रुपैयाँ हुने भए पनि ती सिक्का उत्पादन तथा आपूर्तिमा कति लागत लाग्ने भन्ने विषय भने बोलपत्र प्रक्रियापछि स्पष्ट हुनेछ।
अन्तर्राष्ट्रिय बोलपत्रमार्फत उत्पादक छनोट भएपछि नयाँ सिक्का उत्पादन र आपूर्तिको प्रक्रिया अघि बढ्नेछ। यद्यपि, यी सिक्का कहिलेदेखि बजारमा उपलब्ध हुनेछन् भन्ने विषयमा राष्ट्र बैंकले हालसम्म निश्चित मिति सार्वजनिक गरेको छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।