काठमाण्डौ । भारतमा महँगीको दबाब थप बढ्ने संकेत देखिएको छ। खुद्रा मुद्रास्फीति भारतीय रिजर्भ बैंक (आरबीआई) ले तोकेको अधिकतम सीमाभन्दा माथि पुगेका बेला भारतको वित्त मन्त्रालयले आगामी महिनाहरूमा मूल्यवृद्धि अझ चर्किन सक्ने चेतावनी दिएको हो।
भारतीय वित्त मन्त्रालयले सार्वजनिक गरेको नोभेम्बर महिनाको आर्थिक समीक्षामा चाडपर्व तथा विवाहको मौसममा वस्तु तथा सेवाको माग बढ्नु, प्रतिकूल मौसम र एल निनोको सम्भावनालाई मूल्यवृद्धिका प्रमुख जोखिमका रूपमा औँल्याइएको छ।
भारतमा अक्टोबर २०२६ मा खुद्रा मुद्रास्फीति बढेर ६.०९ प्रतिशत पुगेको छ। सेप्टेम्बरमा यस्तो दर ५.५४ प्रतिशत थियो। अक्टोबर २०२४ पछि पहिलोपटक मुद्रास्फीति आरबीआईले निर्धारण गरेको ६ प्रतिशतको अधिकतम सीमाभन्दा माथि पुगेको हो।
विशेषगरी खाद्यान्नको मूल्यमा भएको तीव्र वृद्धिले समग्र मुद्रास्फीतिलाई माथि धकेलेको छ। अक्टोबरमा खाद्य मुद्रास्फीति ८.९४ प्रतिशत पुगेको छ। ग्रामीण क्षेत्रमा मूल्यवृद्धि ६.६३ प्रतिशत र सहरी क्षेत्रमा ५.४१ प्रतिशत रहेको छ।
तरकारी, मसला तथा दैनिक उपभोग्य वस्तुसँगै होटल, रेस्टुरेन्ट, यातायात र व्यक्तिगत सेवाको मूल्यसमेत बढेको छ। यसले सर्वसाधारणको दैनिक खर्च थप महँगो बनाएको छ।
महँगी बढाउने तीन प्रमुख कारण
भारतीय वित्त मन्त्रालयका अनुसार आगामी महिनाहरूमा महँगी बढ्नुका पछाडि मुख्यतः तीनवटा कारण जिम्मेवार हुन सक्छन्।
पहिलो, चाडपर्व तथा विवाहको मौसममा खाद्यान्न, लत्ताकपडा, गरगहना र अन्य उपभोग्य वस्तुको माग बढ्नेछ। मागको तुलनामा आपूर्ति पर्याप्त हुन नसके मूल्यमा थप दबाब पर्न सक्छ।
दोस्रो, मौसममा देखिने अस्वाभाविक परिवर्तनले कृषि उत्पादन र आपूर्ति प्रणाली प्रभावित गर्न सक्छ। यसले खाद्यान्नको मूल्यमा थप वृद्धि ल्याउन सक्ने जोखिम छ।
तेस्रो, एल निनोको सम्भावनाले कृषि उत्पादनमा प्रतिकूल असर पार्न सक्ने चिन्ता छ। यस्तो अवस्था उत्पन्न भए आगामी महिनाहरूमा खाद्यान्नको मूल्य स्थिर राख्न कठिन हुन सक्छ।
कच्चा तेलको मूल्य पनि चिन्ताको विषय
भारतका लागि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य र पश्चिम एसियाको भूराजनीतिक तनावसमेत चुनौतीका रूपमा देखिएका छन्।
विशेषगरी हर्मुज जलडमरूमध्यबाट हुने पानीजहाजको आवागमनमा जोखिम कायम रहँदा पेट्रोलियम पदार्थ तथा समुद्री ढुवानीको लागतमा उतारचढाव हुन सक्ने अनुमान गरिएको छ।
यद्यपि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा तल कायम रहे र भारतीय रुपैयाँ बलियो बने आयातित मुद्रास्फीतिको दबाब केही कम हुन सक्ने वित्त मन्त्रालयको आकलन छ।
आर्थिक गतिविधि भने बलियो रहने अपेक्षा
मुद्रास्फीतिको चुनौतीका बाबजुद भारत सरकारले चालु आर्थिक वर्षको डिसेम्बर त्रैमासमा आर्थिक गतिविधि बलियो रहने अपेक्षा गरेको छ।
वस्तुको ओसारपसार, कर संकलन, विद्युत् खपत र मालवाहक ढुवानीजस्ता सूचकहरूले आर्थिक गतिविधि विस्तार भइरहेको संकेत गरेका छन्।
उत्पादनमूलक उद्योगमा नयाँ अर्डर बढ्नु, सवारीसाधनको बिक्रीमा सुधार आउनु तथा ग्रामीण क्षेत्रमा उपभोग बलियो रहनुले अर्थतन्त्रलाई सकारात्मक सहयोग पुग्ने सरकारी अनुमान छ।
भारतको विदेशी मुद्रा सञ्चिति पनि मजबुत अवस्थामा रहेको छ। नोभेम्बर १३ सम्म भारतसँग ७ खर्ब ५ अर्ब ३० करोड अमेरिकी डलरबराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ। यो करिब १० महिनाको आयात धान्न पर्याप्त हुने बताइएको छ।
भारतमा महँगी बढ्दा नेपाललाई कस्तो असर ?
भारतमा महँगी बढ्ने सम्भावनाले नेपालको अर्थतन्त्रमा समेत चासो बढाएको छ। नेपालले खाद्यान्न, तरकारी, पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र दैनिक उपभोग्य वस्तुको ठूलो हिस्सा भारतबाट आयात गर्ने भएकाले त्यहाँको मूल्यवृद्धिको असर नेपाली बजारसम्म आइपुग्न सक्छ।
विशेषगरी भारतमा खाद्यान्न तथा अन्य उपभोग्य वस्तुको मूल्य निरन्तर बढे नेपाली आयातकर्ताको लागत बढ्न सक्छ। त्यसको असर अन्ततः नेपाली उपभोक्ताले तिर्नुपर्ने खुद्रा मूल्यमा पर्न सक्छ।
त्यसैगरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ तथा ढुवानी लागत बढे नेपालको आयात खर्च थप महँगो बन्ने जोखिम रहन्छ।
नेपाल र भारतबीचको खुला व्यापारिक सम्बन्ध तथा नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दरका कारण भारतीय बजारको मूल्य परिवर्तन नेपाली अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिन्छ।
यद्यपि भारतमा महँगी बढ्दैमा नेपालमा पनि सोही अनुपातमा मूल्यवृद्धि हुन्छ भन्ने निश्चित छैन। नेपालको आन्तरिक उत्पादन, आयातको मात्रा, कर संरचना, ढुवानी खर्च र बजारको आपूर्ति अवस्थाले वास्तविक प्रभाव निर्धारण गर्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।