काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका १५ करोड थान नयाँ सिक्का बजारमा ल्याउने तयारी गरेको छ। यसका लागि केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले सिक्काको डिजाइन, टकमरी, आपूर्ति तथा ढुवानी गर्न अन्तर्राष्ट्रिय कम्पनीबाट शिलबन्दी बोलपत्र आह्वान गरेको छ।
राष्ट्र बैंकका अनुसार बोलपत्रमा पूर्वयोग्य ठहरिएका अन्तर्राष्ट्रिय सेक्युरिटी मिन्टिङ कम्पनीहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। प्राविधिक र वित्तीय प्रस्ताव छुट्टाछुट्टै खाममा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
इच्छुक कम्पनीले २० हजार रुपैयाँ वा सो बराबरको विदेशी मुद्रा तिरेर डिसेम्बर २८ सम्म बोलपत्रसम्बन्धी कागजात खरिद गर्न सक्नेछन्। यसबारे जानकारी दिन डिसेम्बर ११ मा राष्ट्र बैंकको थापाथली कार्यालयमा पूर्वबोलपत्र बैठक आयोजना हुनेछ।
बोलपत्र पेस गर्ने अन्तिम म्याद डिसेम्बर २९ गते दिउँसो १२ बजे तोकिएको छ। प्राप्त प्रस्ताव सोही दिन दिउँसो १ बजे खोलिनेछ।
प्रतिस्पर्धामा सहभागी कम्पनीले कम्तीमा १ लाख २७ हजार अमेरिकी डलर वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा अथवा नेपाली रुपैयाँको बैंक धरौटी पेस गर्नुपर्नेछ। उक्त धरौटी बोलपत्र पेस गरेको मितिबाट १५० दिनसम्म मान्य हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।