काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन मध्य कालीगण्डकी जलविद्युत आयोजना निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आइतबार आयोजनाको स्थलगत निरीक्षण तथा अनुगमनपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ढकालले बाढीबाट क्षति पुगेका संरचनाको पुनर्निर्माणसँगै निर्माण कार्यलाई तीव्रता दिइएको बताएका हुन्।
गत असोज १० र ११ गते कालीगण्डकी नदीमा आएको बाढीले आयोजनाका संरचनामा ठूलो क्षति पुर्याएको थियो। क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्नुपर्ने भएपछि आयोजना निर्माणको समय लम्बिने चिन्ता देखिए पनि निर्धारित समयमै काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणलाई गति दिइएको ढकालले उल्लेख गरेका छन्।
उनका अनुसार बाढीका कारण आयोजनाको लागत केही बढ्न सक्ने भए पनि समय र गुणस्तरमा कुनै सम्झौता गरिने छैन। परियोजना निर्धारित समय, गुणस्तर र लागतभित्र सम्पन्न हुनुपर्ने आफ्नो मान्यता रहेको बताउँदै उनले आयोजनालाई समयमै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन्।
प्रतिकूल परिस्थितिका बाबजुद निर्माणमा खटिएका प्राविधिक तथा कामदारको प्रशंसा गर्दै ढकालले सम्पूर्ण टोलीप्रति आभार व्यक्त गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।