काठमाण्डौ । नबिल बैंक लिमिटेडले दक्षिण एसियाली स्तरको प्रतिष्ठित ‘साफा मेरिट अवार्ड’ प्राप्त गरेको छ। आर्थिक वर्ष २०२४/२५ को वार्षिक प्रतिवेदनका आधारमा बैंकले दक्षिण एसियाका निजी क्षेत्रका बैंकहरूमध्ये उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेबापत उक्त अवार्ड प्राप्त गरेको हो।
साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) ले प्रदान गर्ने उक्त अवार्ड बंगलादेशमा शनिबार आयोजित विशेष समारोहमा नबिल बैंकका सञ्चालक सइद मन्सुर मुस्तफाले ग्रहण गरेका थिए।
साफाले दक्षिण एसियाका विभिन्न वित्तीय तथा व्यावसायिक संस्थाहरूको वार्षिक प्रतिवेदन मूल्याङ्कन गरी उत्कृष्ट प्रतिवेदन प्रस्तुत गर्ने संस्थालाई प्रत्येक वर्ष सम्मान गर्दै आएको छ। वित्तीय विवरणको गुणस्तर, पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासनका मापदण्डलाई मूल्याङ्कनको आधार बनाइन्छ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले उक्त अवार्ड प्राप्त हुनु बैंकसँगै समग्र नेपाली बैंकिङ क्षेत्रका लागि गौरवको विषय भएको बताएका छन्। उनका अनुसार यो सम्मान बैंकले वित्तीय पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासनलाई निरन्तर अभ्यासका रूपमा अघि बढाउँदै आएको प्रतिबद्धताको अन्तर्राष्ट्रिय मान्यता हो।
नबिल बैंकले यसअघि पनि आर्थिक वर्ष २०२२/२३ को वार्षिक प्रतिवेदनका आधारमा निजी क्षेत्रका बैंकिङ संस्थातर्फ साफा मेरिट अवार्ड प्राप्त गरेको थियो। दोस्रो पटक उक्त सम्मान प्राप्त गर्नुलाई बैंकले आफ्नो वित्तीय प्रतिवेदनको गुणस्तर र पारदर्शितामा कायम राखेको निरन्तरताका रूपमा लिएको छ।
यसअघि बैंकले सोही आर्थिक वर्षको वार्षिक प्रतिवेदनका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) बाट वाणिज्य बैंकतर्फ उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डअन्तर्गत गोल्ड अवार्डसमेत प्राप्त गरेको थियो।
बैंकले वार्षिक प्रतिवेदनमार्फत वित्तीय अवस्था र कार्यसम्पादनसँगै व्यावसायिक रणनीति, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, दिगोपना तथा सामाजिक उत्तरदायित्वका गतिविधि सार्वजनिक गर्दै आएको छ।
चार दशकभन्दा लामो बैंकिङ इतिहास रहेको नबिल बैंकले डिजिटल बैंकिङ, आधुनिक सेवा र ग्राहककेन्द्रित अभ्यासलाई प्राथमिकता दिँदै आएको छ। बैंकको डिजिटल बैंकिङ सेवा ‘एनबैंक’ मार्फत ग्राहकलाई सहज र पहुँचयोग्य सेवा उपलब्ध गराउँदै आएको छ।
हाल बैंकले देशभरका २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।