काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले सडक बोर्ड नेपाल (आरबीएन)सँगको सहकार्यमा नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा विद्युतीय टोल भुक्तानीका लागि ‘एन–ट्याग’ सेवा सञ्चालनमा ल्याएको छ।
बैंकले निजी तथा व्यावसायिक चारपाङ्ग्रे सवारीसाधनलाई लक्षित गर्दै यो सेवा सुरु गरेको हो। यससँगै सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले टोल शुल्क तिर्न बूथमा रोकिनुपर्ने झन्झट हट्ने भएको छ।
एन–ट्याग रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) प्रविधिमा आधारित विद्युतीय स्टिकर हो। सवारीसाधनको अगाडिको सिसामा टाँसिने यो स्टिकरमार्फत तोकिएको एन–ट्याग लेनबाट सवारी गुड्दा टोल शुल्क स्वतः भुक्तानी हुन्छ।
यसबाट टोल बूथमा लामो समय कुर्नुपर्ने समस्या हट्नुका साथै समय र इन्धनको बचत हुने बैंकले जनाएको छ। सेवाले सुरुङमार्गको यात्रा नगदरहित, छरितो र सहज बनाउने अपेक्षा गरिएको छ।
कसरी लिने एन–ट्याग सेवा ?
एन–ट्याग प्राप्त गर्न इच्छुक ग्राहकले सुरुमा सडक बोर्ड नेपालको आधिकारिक वेबसाइट rbn.org.np मा गएर अनलाइन आवेदन दिनुपर्नेछ।
वेबसाइटको ‘Sign Up’ विकल्पमार्फत व्यक्तिगत वा संस्थागत खाता खोल्न सकिनेछ। त्यसका लागि मोबाइल नम्बर र इमेल राखेर प्रमाणीकरण प्रक्रिया पूरा गर्नुपर्नेछ।
व्यक्तिगत ग्राहकले नाम, ठेगाना, सम्पर्क विवरण र नागरिकता, राष्ट्रिय परिचयपत्र वा राहदानीमध्ये कुनै एक परिचयपत्रको प्रतिलिपि अपलोड गर्नुपर्नेछ।
संस्थागत ग्राहकले भने संस्थाको नाम, ठेगाना, सम्पर्क विवरण, आधिकारिक प्रतिनिधिको जानकारी तथा संस्था दर्ता र प्यान वा भ्याट प्रमाणपत्र पेस गर्नुपर्नेछ।
त्यसपछि पोर्टलको ‘Vehicle Registration’ मा गएर सवारीसाधनको ब्लुबुकअनुसार विवरण भर्नुका साथै ब्लुबुकको प्रतिलिपि अपलोड गर्नुपर्नेछ।
आवेदन पूरा भएपछि प्राप्त हुने दर्ता नम्बर (Submission No.) सहितको पीडीएफ फाइल डाउनलोड गरी आवश्यक सक्कल कागजात र फोटोसहित नजिकैको सिद्धार्थ बैंक शाखामा जानुपर्नेछ।
बैंकले कागजात रुजु गरेपछि सम्बन्धित सवारीसाधनको नम्बरसँग एन–ट्याग आबद्ध गरी स्टिकर उपलब्ध गराउनेछ।
त्यसपछि ग्राहकले पुनः सडक बोर्ड नेपालको पोर्टलमा लगइन गरेर ‘Activate Tag’ विकल्पमार्फत ट्याग सक्रिय गरी सवारीसाधनको अगाडिको सिसामा टाँस्नुपर्नेछ।
मोबाइल बैंकिङबाटै रिचार्ज गर्न सकिने
बैंकका अनुसार ग्राहकले सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एप ‘BankSmartXP’ प्रयोग गरेर घरमै बसेर एन–ट्याग रिचार्ज गर्न सक्नेछन्।
यस्तै, सडक बोर्ड नेपालको मोबाइल एप तथा अनलाइन पोर्टलबाट एन–ट्यागको मौज्दात रकम र कारोबार विवरण हेर्न सकिनेछ।
एउटा एन–ट्याग निश्चित सवारीसाधनका लागि मात्रै प्रयोग गर्न मिल्नेछ। टोल लेन प्रयोग गर्नुअघि ट्यागमा पर्याप्त ब्यालेन्स भने हुनुपर्नेछ।
बैंकले यो सेवाबाट विद्युतीय भुक्तानी प्रणालीको विस्तार हुनुका साथै आगामी दिनमा सञ्चालनमा आउने विद्युतीय टोल संकलन प्रणालीयुक्त अन्य राजमार्गमा समेत यात्रालाई थप व्यवस्थित, सुरक्षित र छरितो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
सेवाबारे थप जानकारीका लागि सिद्धार्थ बैंकको नजिकको शाखा, चौबीसै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र वा [email protected] मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।