काठमाण्डौ । रामेछापको सुनापति गाउँपालिकाले पर्यटन क्षेत्रको विकास, स्थानीय उत्पादनको बजारीकरण तथा निजी क्षेत्रको लगानी आकर्षित गर्ने उद्देश्यसहित ‘सुनापति भ्रमण वर्ष–२०८३’ घोषणा गरेको छ।
भ्रमण वर्षको अवसरमा गाउँपालिकाले आगामी मंसिर २५ देखि २७ गतेसम्म ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सुनापति डाँडामा तीनदिने पर्यटन महोत्सव तथा लगानी सम्मेलन आयोजना गर्ने भएको हो।
गाउँपालिकाले पत्रकार सम्मेलनमार्फत महोत्सवको तयारी र लगानीका सम्भावनाबारे जानकारी गराएको छ। महोत्सव अवधिमा करिब १५ हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। कार्यक्रम सञ्चालनमा करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
१९ पर्यटकीय गन्तव्यलाई एउटै सर्किटमा जोडिने
गाउँपालिकाले भ्रमण वर्षलाई प्रभावकारी बनाउन पालिकाभित्रका १९ प्रमुख पर्यटकीय गन्तव्यलाई एकीकृत पर्यटन सर्किटका रूपमा विकास गर्ने योजना अघि सारेको छ।
नेपाल सरकारको एक सय पर्यटकीय गन्तव्यको सूचीमा समावेश सुनापति डाँडा, ऐतिहासिक १०८ लहरेमाने र महादेवको विशाल मूर्ति महोत्सवका मुख्य आकर्षण रहनेछन्।
त्यस्तै, सेतो मछिन्द्रनाथको मूर्ति, लामाटोलस्थित पद्मसम्भव मूर्ति तथा गुम्बा, फलाम पोखरी, धर्मद्वार, पानीघाट युद्ध पार्क, डम्फुडाँडा, चिया बगान र लखपति छ्योर्तेन डाँडालगायतका स्थलको प्रचारप्रसार गरिनेछ।
महोत्सवसँगै बालमैत्री स्थानीय शासन घोषणासम्बन्धी कार्यक्रमलाई पनि अघि बढाइने गाउँपालिकाले जनाएको छ।
होटल, रिसोर्ट र होमस्टेमा निजी लगानी भित्र्याइने
गाउँपालिकाले पर्यटन पूर्वाधार निर्माणका लागि सरकारी बजेटमा मात्रै निर्भर नहुने नीति लिएको छ।
यसका लागि लगानी सम्मेलनमार्फत होटल, रिसोर्ट, होमस्टे, पदमार्ग तथा अन्य पर्यटकीय पूर्वाधारमा निजी क्षेत्रको लगानी आकर्षित गरिनेछ।
गाउँपालिका अध्यक्ष ठुलेकान्छा तामाङले पर्यटन विकासको उद्देश्य पर्यटकको संख्या बढाउनु मात्रै नभई उनीहरूको बसाइ अवधि लम्ब्याएर स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनु रहेको बताए।
उनका अनुसार सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत निजी क्षेत्र, सहकारी, बैंक तथा वित्तीय संस्थाको पूँजी, प्रविधि र व्यवस्थापकीय दक्षतालाई पर्यटन विकासमा उपयोग गरिनेछ।
लगानीकर्तालाई आवश्यक नीतिगत सहजीकरण उपलब्ध गराउने प्रतिबद्धता पनि गाउँपालिकाले जनाएको छ।
सुनापति डाँडाको एकीकृत विकास परियोजनाको प्रारम्भिक चरणमै प्रत्यक्ष रूपमा १५ देखि २० जना तथा अप्रत्यक्ष रूपमा २५ देखि ४० जनासम्मका लागि रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।
स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयास
महोत्सवलाई पर्यटन प्रवर्द्धनमा मात्रै सीमित नराखी स्थानीय उत्पादनको व्यापार विस्तार गर्ने अवसरका रूपमा समेत उपयोग गरिनेछ।
महोत्सवमा स्थानीय किसान, महिला समूह, सहकारी तथा घरेलु उद्यमीले उत्पादन गरेका आलु, फलफूल, तरकारी, जडीबुटी, हस्तकला र रैथाने परिकारको प्रदर्शनी तथा बिक्री कक्ष राखिनेछ।
गाउँपालिकाले स्थानीय उत्पादनलाई काठमाण्डौसहित देशका अन्य बजार र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्य लिएको छ।
यसले स्थानीय किसान तथा साना उद्यमीको आयआर्जन वृद्धि गर्नुका साथै पर्यटन र कृषिबीच व्यावसायिक सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तामाङ संस्कृति र सांगीतिक कार्यक्रम विशेष आकर्षण
तीनदिने महोत्सवमा तामाङ समुदायको मौलिक संस्कृति, कला र परम्परालाई विशेष प्राथमिकता दिइनेछ।
डम्फु र टुङ्नाको सांस्कृतिक प्रस्तुति, मौलिक परिकार, हस्तकला प्रदर्शनी, साहित्यिक कार्यक्रम तथा खेलकुद प्रतियोगिता आयोजना गरिनेछ।
महोत्सवमा चर्चित गायक विश्व दोङसहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति पनि रहनेछ।
गाउँपालिकाले वातावरणमैत्री पर्यटन र जैविक विविधता संरक्षणलाई समेत प्राथमिकतामा राखेको छ।
‘सुनापति जाऔँ, प्रकृति र संस्कृति चिनौँ’ भन्ने मूल नारासहित आयोजना हुने महोत्सवमा सहभागी हुन गाउँपालिकाले स्वदेश तथा विदेशमा रहेका नेपाली, पर्यटक, लगानीकर्ता र सरोकारवालालाई आह्वान गरेको छ।
गाउँपालिकाले भ्रमण वर्ष र लगानी सम्मेलनमार्फत पर्यटक आगमन बढाउने, निजी लगानी आकर्षित गर्ने तथा स्थानीय कृषि, व्यापार र रोजगारीलाई पर्यटनसँग जोडेर ग्रामीण अर्थतन्त्र चलायमान बनाउने अपेक्षा गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।