काठमाण्डौ । लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनमा ल्याउन सरकारले नयाँ मोडल अघि सारेको छ। उद्योगको स्वामित्व सरकारमै राखेर सञ्चालन र व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी ‘अपरेसन लिज मोडल’ सिफारिस गरिएको हो।
सरकारले थप पूँजी लगानी नगरी निजी क्षेत्रको लगानी, प्रविधि र व्यवस्थापकीय क्षमता उपयोग गरेर उद्योग सञ्चालन गर्ने प्रस्ताव अघि बढाएको छ।
शुक्रबार सरकारी लगानी व्यवस्थापन समितिमा पेस गरिएको प्रतिवेदनमा गोरखकाली रबर उद्योगलाई निश्चित अवधि र सर्तसहित निजी क्षेत्रलाई लिजमा दिन सिफारिस गरिएको छ।
यसअघि अर्थ मन्त्रालयले विज्ञहरू सम्मिलित समिति गठन गरी उद्योगको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) गराएको थियो।
उक्त समितिले उद्योगको भविष्यबारे तीनवटा विकल्प प्रस्तुत गरेको थियो। पहिलो, उद्योग निजी क्षेत्रलाई लिजमा दिएर सञ्चालन गर्ने, दोस्रो, कम्पनी खारेज गर्ने र तेस्रो, निजी वा सार्वजनिक संस्थाको सहभागितामा उद्योग सञ्चालन गर्ने।
ती विकल्पमाथि थप अध्ययन गर्न गठित उपसमितिले भने उद्योगलाई लिजमा दिएर सञ्चालन गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको हो।
स्वामित्व सरकारको, व्यवस्थापन निजी क्षेत्रको
प्रस्तावित मोडलअनुसार गोरखकाली रबर उद्योगको स्वामित्व सरकारकै रहनेछ। तर, उद्योग सञ्चालन, व्यवस्थापन तथा आवश्यक प्रविधि र पूँजी परिचालनको जिम्मेवारी निजी क्षेत्रलाई दिइनेछ।
यसका लागि निश्चित अवधि, सञ्चालनका सर्त तथा निजी क्षेत्रले निर्वाह गर्नुपर्ने जिम्मेवारी तोकिनेछ।
अर्थ मन्त्रालयका अनुसार यो मोडलबाट सरकारमाथि थप लगानीको भार नथपी निजी क्षेत्रको व्यावसायिक दक्षता उपयोग गर्न सकिने अपेक्षा गरिएको छ।
हेटौंडा र उदयपुर सिमेन्टको पनि अध्ययन
गोरखकाली रबर उद्योगको सञ्चालन मोडल अध्ययन गर्न गठित उपसमितिले हेटौंडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योगको सञ्चालन तथा व्यवस्थापनबारे समेत अध्ययन अघि बढाएको छ।
सरकारी लगानी रहेका उद्योगहरूलाई कसरी प्रभावकारी रूपमा सञ्चालन गर्ने भन्ने विषयमा अध्ययन केन्द्रित रहेको छ।
अब अन्तिम निर्णय सरकारी लगानी व्यवस्थापन समितिबाट
उपसमितिको सिफारिस कार्यान्वयनमा जाने वा नजाने भन्ने अन्तिम निर्णय भने भइसकेको छैन।
अर्थमन्त्रीको अध्यक्षतामा रहने सरकारी लगानी व्यवस्थापन समितिले प्रतिवेदन अध्ययन गरी उद्योगको आगामी भविष्यबारे निर्णय लिनेछ।
समितिमा प्रतिनिधिसभाको अर्थ समितिका सभापति, अर्थ, कानुन तथा श्रम मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका एक सदस्य, निजी क्षेत्रका प्रतिनिधि तथा सरकारले मनोनीत गरेका दुई सांसद सदस्य रहने व्यवस्था छ।
लामो समयदेखि बन्द रहेको उद्योग पुनर्जीवित गर्ने सरकारी प्रयासमा निजी क्षेत्रलाई सञ्चालनको जिम्मेवारी दिने प्रस्ताव महत्त्वपूर्ण कदमका रूपमा आएको छ।
यद्यपि, प्रस्तावित मोडल व्यवहारमा कार्यान्वयन हुने वा नहुने र उद्योग सञ्चालनको जिम्मेवारी कसले पाउने भन्ने विषय सरकारी लगानी व्यवस्थापन समितिको निर्णयपछि मात्रै स्पष्ट हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।