काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ जनताका समस्या प्रत्यक्ष रूपमा सुन्न तथा बाढीपहिरोबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न गण्डकी प्रदेशको भ्रमणमा निस्कने भएका छन्।
मन्त्री श्रेष्ठले आज गण्डकी प्रदेशका विभिन्न जिल्लामा पुगेर ऊर्जा तथा सिँचाइ क्षेत्रका समस्या, बाढीपहिरोबाट भएको क्षति, पुनर्निर्माणको अवस्था र सम्भावित जोखिम न्यूनीकरणका विषयमा स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा उनले कास्की, स्याङ्जा, म्याग्दी, बागलुङ र पर्वतलगायत जिल्लामा पुगेर स्थानीय नागरिकका समस्या सुन्नेछन्। विशेषगरी पहिरो नियन्त्रण, नदी तथा खोलामा तटबन्ध निर्माण, सिँचाइ आयोजनाको अवस्था र विपद्बाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका विषयमा उनले प्रत्यक्ष जानकारी लिनेछन्।
कास्कीमा पहिरोबाट भएको क्षति तथा प्रभावित बस्तीको अवस्थाबारे जानकारी लिने कार्यक्रम छ। त्यस्तै, स्याङ्जामा जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित विषयमा निरीक्षण तथा समीक्षा गरिनेछ।
विपद्बाट प्रभावित नागरिकका वास्तविक समस्या पहिचान गर्ने, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई गति दिने र भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक योजना तयार गर्ने उद्देश्यले मन्त्री श्रेष्ठ स्थलगत अनुगमनमा जान लागेका हुन्।
अनुगमनबाट प्राप्त जानकारीका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल समाधान गर्नुपर्ने समस्या र दीर्घकालीन रूपमा सम्बोधन गर्नुपर्ने विषयको पहिचान गरिने जनाइएको छ।
नागरिकको घरदैलोमै पुगेर उनीहरूका समस्या सुन्ने र समाधानका लागि प्रत्यक्ष पहल गर्ने सरकारको प्राथमिकताअनुसार मन्त्री श्रेष्ठले गण्डकी प्रदेशको भ्रमण गर्न लागेका हुन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।