काठमाण्डौ । पशुपन्छी क्षेत्रमा पुगेको क्षति न्यूनीकरण र प्रभावित किसानको जीविकोपार्जन पुनःस्थापनाका लागि खाद्य तथा कृषि संगठन (एफएओ) नेपाल सक्रिय भएको छ। बाढीबाट घाइते भएका पशुचौपायाको उपचार, मृत पशुको वैज्ञानिक व्यवस्थापन र किसानलाई पुनः पशुपालनमा फर्काउने उद्देश्यसहित एफएओले विभिन्न कार्यक्रम अघि बढाएको हो।
यसैक्रममा एफएओ नेपालको प्राविधिक सहयोग तथा विदुर नगरपालिका पशु सेवा शाखाको आयोजनामा शुक्रबारदेखि नुवाकोटको विदुर नगरपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरमा बाढी प्रभावित किसानका पशुचौपायाको स्वास्थ्य परीक्षण, उपचार तथा आवश्यक औषधि वितरण भइरहेको छ।
एफएओ नेपालले प्रारम्भिक चरणमा बाढी प्रभावित १५ वटा स्थानीय तहमा कम्तीमा एक/एक वटा पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाएको छ। बढी प्रभावित क्षेत्र र पशु स्वास्थ्य सेवाको आवश्यकता पहिचान गरी सम्बन्धित स्थानीय तहसँगको समन्वयमा शिविर सञ्चालन गरिने एफएओ नेपालका लाइभस्टक एन्ड वान हेल्थ एड्भाइजर डा. सुरेन्द्र कार्कीले जानकारी दिए।
उनका अनुसार बाढीपछि पशुपन्छी क्षेत्रमा भएको क्षतिको विवरण संकलनदेखि घाइते पशुको उपचार र मृत पशुको व्यवस्थापनसम्मका काममा एफएओले नेपाल सरकार तथा स्थानीय तहसँग सहकार्य गरिरहेको छ। घाइते पशुको उपचारका लागि स्थानीय तहलाई औषधि उपलब्ध गराइएको छ भने मृत पशुको अवशेष व्यवस्थापनका लागि चुन, निःसंक्रमक औषधि र आवश्यक सामग्री प्रदान गरिएको छ।
बाढी प्रभावित १५ वटै पालिकामा मृत पशुको अवशेष खोजी तथा व्यवस्थापनका लागि स्थानीय समुदाय परिचालन गरी टोलीसमेत गठन गरिएको कार्कीले बताए। प्रत्येक पालिकामा स्थानीय किसान तथा समुदायलाई समेटेर उपभोक्ता समिति गठन गरी मृत पशुका अवशेष र हड्डीको वैज्ञानिक व्यवस्थापन गर्ने काम भइरहेको छ।
बाढीबाट पशुपालन क्षेत्रमा ठूलो क्षति पुगेपछि किसानको जीविकोपार्जनमा समेत असर परेको छ। विदुर नगरपालिका पशु सेवा शाखा प्रमुख डा. सुजता अधिकारीका अनुसार नगरपालिकामा पाँचवटा ठूला बाख्रा, कुखुरा तथा गाईपालन फार्म प्रभावित भएका छन्। त्यस्तै, ३३० जना किसानले आफ्ना पशुपन्छीमा क्षति पुगेको विवरण नगरपालिकामा दर्ता गराएका छन्।
बाढीपछि करिब ४० वटा उद्धार गरिएका पशुचौपायाको उपचारका लागि किसानले नगरपालिकामा सम्पर्क गरेका थिए। नगरपालिकाले प्राविधिक टोली परिचालन गरी ती पशुको उपचार गरेको अधिकारीले बताइन्।
प्रभावित किसानलाई यसअघि विभिन्न संघसंस्थाको सहकार्यमा करिब २०० बोरा पशु आहार वितरण गरिएको थियो। पशुमा औषधि अभाव हुन नदिन निःशुल्क औषधिसमेत उपलब्ध गराइएको उनले जानकारी दिइन्।
बाढीबाट मरेका पशुका अवशेषले खानेपानीका स्रोत र वातावरण प्रदूषित गर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै विदुर नगरपालिकाका चार स्थानमा उपभोक्ता समिति गठन गरिएको छ। विदुर नगरपालिका–५ र १० मा मृत पशुका अवशेष व्यवस्थापनको काम सुरु भइसकेको छ। यसका लागि आवश्यक सुरक्षा सामग्री प्रयोग गरी चुन तथा निःसंक्रमक औषधि छर्केर व्यवस्थापन भइरहेको नगरपालिकाले जनाएको छ।
पशुपालन क्षेत्रमा भएको क्षतिपछि किसानलाई पुनःस्थापित गर्न वैकल्पिक जीविकोपार्जनका उपायसमेत खोज्न थालिएको छ। बाढीबाट प्रभावित गाई तथा बाख्रापालक किसानलाई उनीहरूको आवश्यकता र सम्भावनाअनुसार कुखुरा तथा बंगुरपालनतर्फ आकर्षित गर्ने विषयमा छलफल भइरहेको अधिकारीले बताइन्।
एफएओ नेपालका डा. कार्कीले पशुपन्छीको स्वास्थ्य मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै विपद् व्यवस्थापनमा पशुधन संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने बताए। उनका अनुसार मृत पशुको उचित व्यवस्थापन नहुँदा खानेपानीका स्रोत प्रदूषित हुने र त्यसबाट मानव स्वास्थ्यमा समेत जोखिम उत्पन्न हुन सक्छ।
नेपालजस्तो कृषि तथा पशुपालनमा निर्भर अर्थतन्त्रमा पशुधन किसानको आम्दानी र जीविकोपार्जनको महत्वपूर्ण आधार भएकाले विपद्पछिको पुनःस्थापना कार्यक्रममा पशु उद्धार, उपचार, आहार व्यवस्थापन र पशुपालन क्षेत्रको पुनःस्थापनालाई समेट्नुपर्ने उनको भनाइ छ।
उनले प्रभावित क्षेत्रको आवश्यकता र सम्भावनाअनुसार कतै बाख्रापालन, कतै गाईभैँसी, कुखुरा वा बंगुरपालनलाई प्राथमिकता दिन सकिने बताए। साथै, दूध, अण्डा तथा मासुको उत्पादन र बिक्रीसँग जोडिएको मूल्य शृंखला पुनःस्थापित गर्न सरकार, स्थानीय तह र विभिन्न संघसंस्थाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
यता, बाढी प्रभावित किसानले गाउँमै निःशुल्क पशु स्वास्थ्य सेवा उपलब्ध हुँदा राहत मिलेको बताएका छन्। विदुर नगरपालिका–७ का स्थानीय किसानले एफएओ नेपाल र नगरपालिकाको सहकार्यमा सञ्चालित शिविरले प्रभावित पशुचौपायाको उपचार तथा किसानलाई पशुपालनमा फर्किन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
बाढीले खेतीयोग्य जमिन बगरमा परिणत हुँदा किसानको आर्थिक अवस्था र मनोबलमा समेत असर परेको छ। यस्तो अवस्थामा पशुपालन क्षेत्रको पुनःस्थापना, वैकल्पिक आयआर्जन र कृषि उत्पादनको मूल्य शृंखला पुनः सञ्चालन गर्नु चुनौतीपूर्ण देखिएको छ।
एफएओ नेपाल र विदुर नगरपालिकाले आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिँदै पशु स्वास्थ्य उपचार, मृत पशुको वैज्ञानिक व्यवस्थापन तथा प्रभावित किसानको जीविकोपार्जन पुनःस्थापनाका कार्यक्रम अघि बढाउने जनाएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।