काठमाण्डौ । राज्य स्वामित्वको सञ्चार संस्थान गोरखापत्र संस्थानले विभिन्न तहका ९१ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। संस्थानले शुक्रबार सूचना प्रकाशित गर्दै नवौं तहदेखि दोस्रो तहसम्मका प्राविधिक, प्रशासनिक तथा व्यवस्थापकीय पदमा जनशक्ति माग गरेको हो।
सूचनाअनुसार संस्थानले एक जना नायब कार्यकारी सम्पादकसहित नेपाली तथा अंग्रेजी समूहमा १६ जना समाचारदाता, फोटोग्राफी तथा कलातर्फ २ जना, सामान्य प्रशासनतर्फ १४ जना, लेखा समूहमा १३ जना र ९ जना बजार अधिकृतसहित विभिन्न पदमा कर्मचारी नियुक्ति गर्ने जनाएको छ।
योग्य तथा इच्छुक नेपाली नागरिकहरूले तोकिएको योग्यता पूरा गरी फागुन ७ गतेसम्म दरखास्त दिन सक्नेछन्। सो अवधिभित्र आवेदन दिन नसकेकाले दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
भर्ना प्रक्रिया खुला प्रतिस्पर्धामार्फत गरिने जनाइएको छ। विस्तृत जानकारी, योग्यता तथा आवेदन प्रक्रियासम्बन्धी विवरण संस्थानको आधिकारिक सूचनामा उल्लेख गरिएको छ।

