काठमाण्डौ । सुन, चाँदी र आभूषण व्यवसायी महासंघको १३औँ स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा सुन, चाँदी तथा आभूषण व्यवसायीहरूलाई व्यवसाय सञ्चालनका क्रममा आवश्यक कानुनी, नियामक तथा व्यवसायिक मार्गदर्शन प्रदान गर्न व्यावसायिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ।
उद्घाटन समारोहमा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की उपस्थित भई कक्षको औपचारिक उद्घाटन गरेका थिए। उनले प्रविधिको प्रयोग गरेर हुने अपराध बढिरहेकोले व्यवसायीहरूले सतर्क रहनुपर्नेमा जोड दिए।
विशिष्ट अतिथिको रूपमा उपस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्का ले हेल्प डेस्कले व्यवसायीहरूको समस्या समाधान र अपराध नियन्त्रणमा सहयोग गर्ने विश्वास व्यक्त गरे।
सहायता कक्षमार्फत व्यवसायीहरूले कानुनी परामर्श, नियामक जानकारी र व्यवसायिक समस्यामा आवश्यक सहयोग प्राप्त गर्न सक्नेछन्। महासंघले यस पहलले व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र सम्मानित बनाउँदै व्यवसायी र सरोकारवालाबीच समन्वय र विश्वास अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ।

