काठमाण्डौ । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रका विभिन्न स्थानमा सोमबार बिहान ९ः४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ।
आइतबार महानगरपालिका–श्रीपुर क्षेत्रमा पार्किङको विषयलाई लिएर सुरु भएको सामान्य विवाद क्रमशः दुई समुदायबीच तनावमा परिणत भएपछि जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कर्फ्यु सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय पर्साले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरेको हो।
जारी आदेशअनुसार तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्ति आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न निषेध गरिएको छ। कर्फ्यु पूर्वमा बाइपास रोड, पश्चिममा सिरिसिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा लागू हुने प्रशासनले जनाएको छ।
कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीका सवारी साधन, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षामा सहभागी परीक्षार्थी र खटिने कर्मचारी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन तथा हवाई टिकटको आधारमा यात्रा गर्ने यात्रुहरूलाई सुरक्षा निकायले आवश्यक सहजीकरण गर्ने जनाइएको छ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गरी शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न अनुरोध गरेको छ।

