काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय कारोबार गर्दा कालोसूचीमा राख्ने प्रावधानबारे अध्ययन भइरहेको बताएका छन् ।
बिहिबार वीरगंजमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कालोसूचीमा राख्ने प्रावधानको विषयमा आफूले गम्भीरतापूर्वक अध्ययन गरिरहेको जानकारी दिएका हुन् ।
कार्यक्रममा उनले चेक ब्याउन्स हुनेबित्तिकै कालोसूचीमा राख्ने विषयमा पनि अध्ययन गरिरहेको बताए । ‘कालोसूचीमा पर्नेहरुको सूची छोटो कसरी बनाउने विषयमा लागिरहेका छौँ’ उनले भने, ‘चेक बाउन्स र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका धेरै मानिस कालोसूचीमा पर्ने गरेको देखिएको छ, यो प्रावधानबारे अध्ययन भइरहेको छ ।’
उनले कालोसूचीमा राख्नुपर्ने र नराख्नुपर्नेलाई कसरी एकीन गर्ने विचार गरिरहेको बताए । साथै कडाई गरेर वा उद्योगी व्यापारीलाई थुनेर व्यापार/व्यवसाय नचल्ने र यसले मुलुकको विकासमा हित नहुने समेत बताए ।

