काठमाडौं । आज (चैत ७ गते, शनिबार) देशका अधिकांश क्षेत्रमा मौसम बदली भई वर्षा, चट्याङ र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुने सम्भावना छ।
विशेषगरी कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। यसले जनजीवन, यातायात र कृषि क्षेत्रमा प्रभाव पार्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि मौसम पूर्ण रूपमा सुधार नहुने संकेत देखिएको छ। कोशी प्रदेशका केही स्थान, मधेश र बागमती प्रदेशलगायत अन्य प्रदेशका हिमाली क्षेत्रका धेरै स्थानहरूमा तथा पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
विभागले विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरू, कृषक तथा सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

