काठमाण्डौ । मूल्यवृद्धि सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ को फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ३.६२ प्रतिशत रहेको छ ।
गत वर्षको सोहीमहिनामा यस्तो मुद्रास्फीति ३.७५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६० प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६३ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ३.३४ प्रतिशत र ३.९७ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२/८३ को आठ महिनाको औसत मुद्रास्फीति २.१३ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.७२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.४९ प्रतिशत, घ्यू तथा तेलको ९.८६ प्रतिशत र फलफूलको ९.६३ प्रतिशतले बढेको छ ।
दाल तथा गेडागुडी उप– समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको २.१८ प्रतिशत र मरमसलाको २.०३ प्रतिशतलेघटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २२.८१ प्रतिशत, शिक्षाको ७.४६ प्रतिशत, मदिराजन्य पेय पदार्थको ४.७७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ४.७३ प्रतिशत, सुर्तीजन्य पदार्थको ३.५७ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवाहरु उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.०३ प्रतिशतले घटेको छ ।

