काठमाण्डौ । सुनको मूल्यवृद्धिले आज पनि निरन्तरता पाएको छ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस १.४६ प्रतिशत अर्थात ३३.७७ डलरले वृद्धि भएको छ । यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३४५.४१ डलर कायम भएको छ ।
आज सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २.४९ प्रतिशत अर्थात प्रतिऔंस ०.६८ डलरले बढेको छ । अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य २७.८७ डलरमा कारोबार भईरहेको छ ।
पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर वृद्धि भईरहेको छ । अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्न सक्ने आँकलन,बढ्दो भू–राजनीतिक अनिश्चिनता,विश्वका केन्द्रीय बैंकहरुले सुनको भण्डारणमा गरिरहेको वृद्धि जस्ता विविध कारणले सुनको मूल्य निरन्तर वृद्धि भईरहेको छ ।
अन्तराष्ट्रिय बजारमा भईरहेको सुनको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा समेत परिरहेको छ । नेपाली बजारमा सुनको मूल्यले दैनिक जसो नयाँ रेकर्ड बनाईरहेको छ । चैत २६ गते घरेलु बजारमा सुनको मूल्य हालसम्मकै महङ्गो बनेको थियो ।
यो दिन सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको थियो । घरेलु बजारमा छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ ।