काठमाण्डौ । कम्पनी रजिष्ट्रारको कार्यालयले निःशुल्क परामर्श सेवा डेस्क (सहायता कक्ष) सञ्चालनमा ल्याएको छ । कम्पनीसम्बन्धी सेवा लिन आउने सम्पूर्ण सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले कार्यालयले उक्त डेस्क संचालनमा ल्याएको हो ।
बुधबारदेखि लागू गरिएको यस व्यवस्थाअनुसार अब सेवाग्राहीले कम्पनी प्रशासन, सिएएमआइएस प्रणालीसम्बन्धी जानकारी, आवश्यक परामर्श तथा निवेदन तयार पार्ने सहयोग एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन् ।
उक्त डेस्कबाट सेवाग्राहीलाई प्रत्यक्ष तथा टेलिफोनमार्फत आवश्यक सूचना समेत उपलब्ध गराउने कार्यालयले जनाएको छ ।
साथै, विभिन्न प्रकारका निवेदन उपलब्ध गराउने, फारम भर्न सहयोग गर्ने र आवश्यक परे कर्मचारीले नै निवेदन तयार पारिदिने व्यवस्था गरिएको छ ।
विशेषगरी सनाखत (पहिचान प्रमाणीकरण)सम्बन्धी निवेदनमा सेवाग्राहीलाई सहज बनाउन कर्मचारीले विवरण तयार पारिदिने व्यवस्था गरिएको छ। अन्य सेवाका लागि पनि आवश्यकताअनुसार निवेदन लेख्न सहयोग उपलब्ध गराइने कार्यालयले जनाएको छ।
यस व्यवस्थाले प्रक्रियागत जटिलता कम गर्दै सेवा प्रवाहलाई छिटो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

