काठमाण्डौ । मध्य पूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण विश्वभर इन्धन आपूर्तिमा संकट गहिरिँदै गएको छ। यस संकटको प्रत्यक्ष असर दक्षिण एशियाली मुलुक बंगलादेशमा पनि देखिएको छ। बढ्दो ऊर्जा चुनौतीसँग जुध्न बंगलादेशले नयाँ रणनीति अघि सारेको छ, जसअन्तर्गत उसले रूसबाट कच्चा तेल खरिद गरी भारतमा प्रशोधन गराएर तयार इन्धन स्वदेश भित्र्याउने योजना बनाएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, प्रस्तावित योजनामा कच्चा तेल खरिद, भारतमा प्रशोधन तथा तयार इन्धनको ढुवानीसम्बन्धी सम्पूर्ण खर्च बंगलादेशले नै व्यहोर्नेछ। यस सम्बन्धमा बंगलादेशको ऊर्जा तथा खनिज स्रोत विभागले ऊर्जा मन्त्री इकबाल हसन महमूद तुकुलाई प्रस्ताव पेश गरिसकेको छ। साथै, भारतसँग सरकारी स्तरमा सम्झौता गर्न विदेश मन्त्रालयमार्फत अनुमति मागिएको बताइएको छ।
बंगलादेशसँग चटगाउँमा रहेको एकमात्र सरकारी रिफाइनरीको वार्षिक क्षमता करिब १५ लाख टन मात्र छ। तर, उक्त रिफाइनरी मुख्यतः पश्चिम एशियाबाट आउने हल्का प्रकारको कच्चा तेलका लागि डिजाइन गरिएको हो। रूसी कच्चा तेल प्रायः भारी हुने भएकाले चटगाउँको रिफाइनरीमा त्यसको प्रशोधन सम्भव छैन। यही कारण बंगलादेश हालसम्म तयार पेट्रोलियम पदार्थको आयातमा निर्भर रहँदै आएको छ।
ऊर्जा क्षेत्रमा भारत र बंगलादेशबीच पहिलेदेखि नै सहकार्य बलियो रहँदै आएको छ। भारतको सिलीगुडीदेखि बंगलादेशको परबतिपुरसम्म विस्तार भएको ‘इन्डिया–बंगलादेश फ्रेन्डसिप पाइपलाइन’ मार्फत बंगलादेशले भारतबाट डिजेल आयात गर्दै आएको छ। यो पाइपलाइनमार्फत नुमालीगढ रिफाइनरीबाट डिजेल आपूर्ति भइरहेको छ, जसका लागि सन् २०२३ मा १५ वर्षे सम्झौता गरिएको थियो।
हालै बंगलादेशका विदेश मन्त्रीको भारत भ्रमणका क्रममा पनि डिजेल आयात वृद्धि गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो। यसले दुई देशबीचको ऊर्जा सहकार्य अझ प्रगाढ हुँदै गएको संकेत गर्दछ।
हालैको क्षेत्रीय तनावका क्रममा भारतले बंगलादेशलाई अतिरिक्त ५ हजार टन डिजेल उपलब्ध गराएको थियो। यससँगै पछिल्लो समय भारतबाट कुल १५ हजार टन डिजेल बंगलादेश पठाइएको छ, जुन फ्रेन्डसिप पाइपलाइनमार्फत परबतिपुर डिपोमा पुगेको थियो।
उक्त पाइपलाइन सन् २०२४ मा बंगलादेशको आन्तरिक राजनीतिक परिवर्तनका कारण केही समय बन्द भएको थियो। तर, सन् २०२६ फेब्रुअरीमा नयाँ सरकार गठन भएपछि पुनः सञ्चालनमा ल्याइएको हो।
रूससँग बढ्दो ऊर्जा सहकार्य
अमेरिकी प्रतिबन्धमा दिइएको अस्थायी छुटका कारण बंगलादेशले रूसी तेल अप्रत्यक्ष रूपमा आयात गर्ने सम्भावना बढेको छ। यसै सन्दर्भमा बंगलादेशले रूसबाट ६ लाख टन डिजेल आयात गर्ने प्रस्ताव पनि अघि सारेको छ। हालै बंगलादेशका ऊर्जा मन्त्री र रूसका राजदूतबीच ऊर्जा सहकार्य विस्तारबारे विस्तृत छलफल भएको बताइएको छ।

