काठमाण्डौ । काठमाण्डौ उपत्यकामा बढ्दो सवारी चाप र दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियानले पछिल्लो २४ घण्टामा उल्लेखनीय प्रभाव देखाएको छ। नियम उल्लङ्घनमा कडाइ गरिँदा २३ लाख २० हजार रुपैयाँ राजस्व सङ्कलन हुनुका साथै हजारौँ चालक कारबाहीमा परेका छन्।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २४ घण्टाको अवधिमा २ हजार ६४० जना चालक विभिन्न ट्राफिक उल्लङ्घनका कारण कारबाहीमा परेका हुन्।
कारबाहीका मुख्य आधारहरूमा मादक पदार्थ सेवन गरी सवारी चलाउने, रातो बत्ती उल्लङ्घन गर्ने, तीव्र गतिमा गाडी चलाउने तथा लेन अनुशासन उल्लङ्घन गर्ने जस्ता जोखिमयुक्त व्यवहारहरू रहेका छन्।
ट्राफिक प्रहरीका अनुसार अभियानको प्राथमिक उद्देश्य राजस्व संकलनभन्दा पनि दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात संस्कृतिको विकास गर्नु हो। सोही अनुसार चेकजाँचलाई चौबिसै घण्टा सक्रिय बनाइएको छ भने जोखिमयुक्त क्षेत्रहरूमा निगरानी बढाइएको छ।

