काठमाण्डू, पूर्णबहादुर खड्काको स्पष्टीकरण तामेलीमा राखेको कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पार्टी जिम्मेवारीबाट निलम्बन गरेको छ ।
केन्द्रीय अनुशासन समितिको निर्णयले कांग्रेसभित्रको असन्तुष्टि र नेतृत्व–कार्यकर्ता द्वन्द्व झनै तीव्र बनेको देखिएको छ ।
समितिले तामाङले पार्टी नेतृत्वविरुद्ध “बदनियतपूर्ण, भ्रमपूर्ण र तथ्यहीन” अभिव्यक्ति दिएको निष्कर्ष निकाल्दै उनलाई सभापति पदबाट तत्काल लागू हुने गरी निलम्बन गरेको हो।
वैशाख ७ गते मागिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अनुशासन समितिले थप अनुसन्धान आवश्यक रहेको ठहर गरेको छ।
समितिका संयोजक तारामान गुरुङ को अध्यक्षतामा बसेको बैठकले तामाङलाई पदमा रहँदा अनुसन्धान प्रक्रियामा असर पर्न सक्ने भन्दै निलम्बन गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको हो।
अनुशासन समितिका अनुसार, तामाङको स्पष्टीकरण प्रारम्भिक रूपमा नै कमजोर देखिएको र पार्टीको आन्तरिक अनुशासन प्रक्रिया निष्पक्ष रूपमा अघि बढाउन उनलाई जिम्मेवारीबाट अलग गर्नु आवश्यक भएको बताइएको छ।
कांग्रेसका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिँदै निलम्बन पार्टी विधान २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा नियमावली २०७६ अनुसार गरिएको बताए।
उनका अनुसार अन्तिम निर्णय नआएसम्म तामाङलाई जिल्ला सभापतिका रूपमा कुनै पनि कामकाज गर्न अनुमति हुनेछैन।
यसैबीच, पार्टीभित्र भने यो कदमलाई लिएर विभिन्न कोणबाट व्याख्या शुरु भएको छ।
एक पक्षले अनुशासन कायम गर्न आवश्यक प्रक्रिया भनेको छ भने अर्को पक्षले यसलाई आन्तरिक असन्तुष्टि दबाउने प्रयासका रूपमा समेत हेरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।