काठमाण्डौं, पूर्वानुमानअनुसारै काठमाडौं उपत्यकामा हावाहुरीसहितको वर्षा शुरु भएपछि जनजीवन एकाएक प्रभावित बनेको छ।
साँझ नपुग्दै करिब ५ बजेतिरै उपत्यका आसपासका क्षेत्र अँध्यारो बनेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले दिउँसो ४ बजेदेखि नै हावाहुरीसहित वर्षा हुने चेतावनी दिएको थियो।
सोही अनुसार काठमाडौं उपत्यका मात्र नभई देशका विभिन्न स्थानमासमेत मौसम एक्कासि बद्लिएको छ।
महाशाखाले बिहानै विशेष बुलेटिन जारी गर्दै अपराह्नदेखि तीव्र हावाहुरी शुरु हुने संकेत गरेको थियो।
मंगलबार सार्वजनिक गरिएको अर्को सूचनामा साँझ ५्: ४५ बजेदेखि हावाहुरीको प्रभाव देखिने र यो क्रम भोलि बिहानसम्म रहने अनुमान गरिएको छ।
अचानक आएको हावाहुरी र वर्षाले सवारी आवागमन, दैनिक गतिविधि र जनजीवनमा असर पारेको छ भने सम्बन्धित निकायले सतर्कता अपनाउन आग्रह गरेका छन्।
अहिलेको मौसम अवस्थाले पूर्वानुमान प्रणालीप्रति विश्वास बढाए पनि जोखिम व्यवस्थापनतर्फ अझ तयारी आवश्यक रहेको देखिएको छ।

