काठमाण्डौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राष्ट्रिय सीमाको सुरक्षाभन्दा सुकुम्बासी व्यवस्थापनलाई अघि सारिएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री बालेन शाहतर्फ संकेत गर्दै सुकुम्बासी बस्ती हटाउन डोजर प्रयोग गर्नुको सट्टा लिपुलेक–कालापानीजस्ता सीमावर्ती क्षेत्रमा ध्यान दिनुपर्ने बताए।
भारत र चीनले मानसरोवर जाने मार्ग खोल्ने तयारीको प्रसंग जोड्दै उनले नेपाली सेनालाई त्यहाँ परिचालन गरी आफ्नो भूमि फिर्ता ल्याउने पहल गर्नुपर्ने धारणा राखे।
साथै, मेयर हुँदा बालेन शाहले ‘ग्रेटर नेपाल’को नक्सा प्रयोग गरेको स्मरण गराउँदै उक्त भूभाग फिर्ता ल्याउने प्रयास किन नभएको भन्ने प्रश्न उठाए।
प्रसाईँले सेना सुकुम्बासी बस्तीमा होइन, लिपुलेक–कालापानी क्षेत्रमा केन्द्रित हुनुपर्ने बताउँदै बालेन शाहले पनि सोहीतर्फ ध्यान दिनुपर्ने उल्लेख गरे।
यससँगै उनले सुकुम्बासीप्रति सरकारको व्यवहारप्रति आलोचना गर्दै गरिबमाथि अन्याय भएको बताए।
घरबाट हटाइँदा उनीहरूको अवस्था दयनीय बन्ने उल्लेख गर्दै उनले घर सबैको सपना भए पनि बाध्यताका कारण सरकारी वा नदी किनारमा बस्नुपरेको अवस्था रहेको बताए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।