काठमाडौँ — व्यवसायी शेखर गोल्छाको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतमा सुनुवाइ ढिलाइ हुँदा न्यायिक प्रक्रियामै प्रश्न उठ्न थालेको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा थुनामा रहेका गोल्छाका पक्षबाट उनकी श्रीमती सीमा गोल्छाले १४ वैशाखमा सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी थिइन्।
तर, दर्ता भएको दुई हप्ता नजिक पुग्दा पनि दोस्रो सुनुवाइ हुन नसकेको अवस्था छ।
१५ वैशाखमा न्यायाधीश नृपध्वज निरौलाको इजलासले गोल्छालाई बन्दीसहित २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको थियो।
तर, त्यसपछिका १६ र १७ वैशाखका लागि तोकिएका पेशी ‘हेर्न नभ्याइने’ र ‘नमिल्ने’ भन्दै पटक–पटक स्थगित भए।
हाल उक्त निवेदन न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासमा परेको छ।
निरन्तर स्थगित हुँदै आएको सुनुवाइ अब अघि बढ्ने अपेक्षा गरिएको छ।
गोल्छा वैशाख १० गते पक्राउ परेका थिए।

