काठमाण्डौं । वैदेशिक रोजगारीका नाममा आकर्षक तलब र विदेश पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरूले विभिन्न देश पठाइदिन्छु भन्दै १४ जना पीडितबाट कुल ५३ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा बागलुङ काठेखोला गाउँपालिका–३ घर भई काठमाडौँ बुढानिलकण्ठ–११ बस्ने २२ वर्षीय सन्दीप थापा मगर, सर्लाही चक्रघट्टा गाउँपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–९ बस्ने ३९ वर्षीय विजयकुमार यादव, रामेछाप लिखु तामाकोशी गाउँपालिका–१ घर भई बुढानिलकण्ठ–११ बस्ने ३० वर्षीय प्रवेश गुरुङ, काठमाडौँ महानगरपालिका–३ बस्ने ४३ वर्षीय नीरबहादुर कार्की तथा काठमाडौँ चन्द्रागिरी–५ बस्ने ३७ वर्षीय चिरन्जिवी अधिकारी रहेका छन्।
प्रहरीका अनुसार सन्दीप थापा मगरले माल्टा पठाइदिने भन्दै एक जनाबाट १२ लाख रुपैयाँ लिएका थिए।
निर बहादुर कार्कीले क्रोएसिया पठाइदिने भन्दै ८ जना पीडितबाट २ लाख २५ हजार रुपैयाँ ठगी गरेको आरोप छ।
त्यस्तै विजयकुमार यादवले कतार पठाइदिने भन्दै २ लाख २० हजार रुपैयाँ, चिरन्जिवी अधिकारीले क्यानडा पठाइदिने भन्दै ३ जना पीडितबाट ३० लाख रुपैयाँ र प्रवेश गुरुङले मकाउ पठाइदिने भन्दै ५ लाख ५० हजार रुपैयाँ लिएको अनुसन्धानमा खुलेको छ।
रकम लिएपछि सम्पर्कविहीन भएको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।
सन्दीप र विजयलाई काठमाडौँ महानगरपालिका–१२ बाट, निर बहादुरलाई काठमाडौँ–१३ बाट, चिरन्जिवीलाई काठमाडौँ–११ बाट तथा प्रवेशलाई काठमाडौँ–१२ बाट मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

