काठमाण्डौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको डुबेको रकम फिर्ता गराउने अभियानलाई तीव्र बनाउँदै ठूला ऋणीमाथि दबाब बढाएको छ ।
समितिले ऋण नतिरी सम्पर्कविहीन बनेका विभिन्न सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्दै कानूनी असुली प्रक्रिया अघि बढाउने संकेत दिएको हो ।
समितिले मंगलबार जारी गरेको सूचनाअनुसार पहिलो चरणमा समस्याग्रस्त घोषित १० सहकारी संस्थासँग सम्बन्धित ठूला ऋणीहरूको विवरण सार्वजनिक गरिएको छ ।
सार्वजनिक सूचीमा घेदुङ बहुउद्देश्यीय, हाम्रो सगरमाथा, तपाईँ हाम्रो, नागरिक कल्याण, आइडियल यमुना, तुलसी बहुउद्देश्यीय, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ, गौतम श्री तथा नेपाल सहकारी वित्तीय संस्थाका ऋणीहरू समावेश छन् ।
समितिले सम्बन्धित ऋणीहरूलाई तत्काल सम्पर्कमा आएर बाँकी ऋण चुक्ता गर्न निर्देशन दिएको छ ।
समयमै सम्पर्क नगरे वा भुक्तानी प्रक्रिया अघि नबढाए कानूनअनुसार कडा कारबाहीसहित असुली प्रक्रिया शुरु गरिने चेतावनी दिइएको छ ।
बचतकर्ताको रकम फिर्ता सुनिश्चित गर्न बाँकी समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम पनि क्रमशः सार्वजनिक गरिने समितिले जनाएको छ ।
समितिले अन्य ऋणीहरूलाई पनि नाम सार्वजनिक हुनुअघि नै आफ्नो दायित्व पूरा गर्न आग्रह गरेको छ ।

