काठमाण्डौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार प्रकरण फेरि कानूनी प्रक्रियामा अघि बढेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धानपछि पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १३ जना व्यक्ति तथा सम्बन्धित निर्माण कम्पनीविरुद्ध नयाँ मुद्दा दायर गरेको छ।
विशेष अदालत, काठमाडौँमा बिहीबार दायर गरिएको मुद्दामा विमानस्थल निर्माणका क्रममा सम्झौताका प्रावधान उल्लंघन गर्दै ठेकेदार कम्पनीलाई कर छुट दिइएको र त्यसबाट राज्यलाई आर्थिक क्षति पुगेको आरोप लगाइएको छ।
अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार अनुसन्धानका क्रममा देखिएको अनियमितता प्रमाणित भएपछि मुद्दा अघि बढाइएको हो।
मुद्दामा तात्कालीन अर्थमन्त्री कार्की, अर्थ मन्त्रालयका तात्कालीन सचिव शंकरप्रसाद अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तात्कालीन सचिव महेश्वर न्यौपानेसहित १३ जना तथा निर्माण कम्पनीलाई कानूनी दायरामा ल्याइएको छ।

