काठमाण्डौं । आँबुखैरेनी गाउँपालिका क्षेत्रभित्र पर्ने पृथ्वी राजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
गाउँपालिका–४ स्थित पावर हाउस नजिकै बिहीबार दिउँसो करिब ३स्५५ बजे ठूलो पहिरो खसेपछि सडक दुवैतर्फ बन्द भएको हो।
यस घटनापछि मुग्लिङ हुँदै पोखरा, दमौली तथा काठमाडौंतर्फ आवत–जावत गर्ने सवारी साधनहरू लामो जाममा फसेका छन्।
सडक खुलाउन सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत नम्बर २३ मनकामना गणका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्रीराम कुँवरको नेतृत्वमा समन्वय र तयारी भइरहेको छ।
एसपी कुँवरका अनुसार पहिरो ठूलो भएकाले डोजर तथा आवश्यक जनशक्ति परिचालन गरेर सडक सञ्चालन गर्न केही समय लाग्न सक्ने अनुमान गरिएको छ।
तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले डोजरको सहायतामा पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको जानकारी दिएका छन्।
वैकल्पिक मार्ग नहुँदा यात्रुहरू बढी समस्यामा परेका छन् भने सकेसम्म छिटो सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहेको उनले बताए।

