काठमाण्डौं । देशभर पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी नेपाल आसपास सक्रिय न्यूनचापीय क्षेत्रको प्रभाव देखिएको छ ।
यसको असरका कारण अहिले विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदलीसँगै वर्षाको गतिविधि भइरहेको छ ।
हाल मधेश, बागमती र गण्डकी प्रदेशसहित कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखा का अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ ।
त्यस्तै मधेश, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएको छ ।
महाशाखाले आज दिउँसो पनि पहाडी तथा हिमाली क्षेत्रमा बदली कायम रहने जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
अन्य प्रदेशका पहाडी क्षेत्रमा समेत छिटपुट वर्षाको सम्भावना रहेको छ । तराईका केही क्षेत्रमा भने हल्का वर्षा हुन सक्ने जनाइएको छ ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा मौसम सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ ।
ती प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

