काठमाण्डौं । चितवनको भरतपुर महानगरपालिका–४स्थित धर्मचोकमा रहेको चौतारी पार्टी प्यालेसमा आयोजित विवाह समारोहपछि ठूलो संख्यामा सहभागीहरू बिरामी परेका छन्।
भोजमा सहभागीमध्ये ९३ जनामा खाद्य विषाक्तताको लक्षण देखिएको छ भने ५० जना अझै उपचाररत छन्।
चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार वैशाख २३ गते सम्पन्न भोजपछि सहभागीहरूमा स्वास्थ्य समस्या देखिन थालेको हो।
प्रभावितहरूको उपचार भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा भइरहेको छ।
केही गम्भीर बिरामीलाई थप उपचारका लागि निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) र त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुई जना बिरामीलाई सघन उपचार कक्ष (आईसीयू)मा राखिएको भएपनि स्वास्थ्यमा सुधार आएपछि उनीहरूलाई सामान्य वार्डमा सारिएको छ।
हाल सबै बिरामीको अवस्था नियन्त्रणमा रहेको र खतरा नरहेको जानकारी दिइएको छ।
घटनापछि प्रहरीले चौतारी पार्टी प्यालेससँग सम्बन्धित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
साथै, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले घटनाको कारणबारे थप परीक्षण र अध्ययन गरिरहेको जनाएको छ।
डिभिजन कार्यालय प्रमुख प्रमोदचन्द्र पौडेलका अनुसार प्रारम्भिक रूपमा विषाक्त खाना सेवनकै कारण घटना भएको अनुमान गरिएको छ।
बिरामीहरूमा ज्वरो, पखाला तथा रक्तचापसम्बन्धी समस्या देखिएको बताइएको छ।

