काठमाण्डौं । पतिको हस्ताक्षर किर्ते गरी बैंकबाट लाखौं रुपैयाँ कर्जा निकालेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एक महिलासहित दुई जना रहेको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ गरेका व्यक्तिहरूमा पोखराको ढुंगेपाटनकी ४४ वर्षीया वन्ती शाही र सुर्खेत बुद्धचोकका ४४ वर्षीय भद्र थापा रहेका छन् । वन्ती, मोहनबहादुर शाहीकी पत्नी हुन् ।
प्रहरी अनुसन्धानअनुसार मोहनबहादुर शाहीको नाममा रहेको पोखरा महानगरपालिका–३० स्थित दुई वटा जग्गा सिद्धार्थ बैंकमा धितो राखेर ५० लाख रुपैयाँ ऋण निकालिएको थियो ।
उक्त ऋण प्रक्रियामा मोहनबहादुरको नक्कली हस्ताक्षर प्रयोग गरिएको आरोप छ ।
कास्की प्रहरीका डीएसपी हरि बस्नेतले घटनामा संलग्न दुवै जनाविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेको बताए ।

