काठमाण्डौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रलाई गति दिने प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रलाई अघि बढाइने बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रमका लागि पेस गरेको ५३ बुँदे सुझाव बुझ्दै अर्थमन्त्री वाग्लेले विद्युत् क्षेत्रको योगदान अर्थतन्त्रमा क्रमशः बढ्दै गएको उल्लेख गरे।
उनका अनुसार सरकारले ऊर्जा क्षेत्रलाई केवल पूर्वाधार नभई अर्थतन्त्र चलायमान बनाउने रणनीतिक क्षेत्रका रूपमा विकास गर्ने नीति लिएको छ।
“ऊर्जा क्षेत्रको अर्थतन्त्रमा योगदान बढ्दै गएको छ, यसलाई अर्थतन्त्र हाँक्ने प्रमुख क्षेत्रका रूपमा स्थापित गर्ने गरी नीति निर्माण हुन्छ,” उनले भने।
अर्थमन्त्री वाग्लेले लगानीमैत्री वातावरण निर्माण सरकारको प्राथमिकता भएको उल्लेख गर्दै लगानीकर्ताको विश्वास कायम हुने गरी पारदर्शी र व्यावसायिक ढंगले अघि बढ्नुपर्नेमा जोड दिए।
भेटका क्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले ५३ बुँदे सुझाव प्रस्तुत गर्दै सरकारले ऊर्जा क्षेत्रलाई केन्द्रमा राखेर स्पष्ट नीति र पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताए।
उनले १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारी लक्ष्य पूरा गर्न निजी क्षेत्र पूर्ण रूपमा तयार रहेको भन्दै त्यसअनुसारको वातावरण आवश्यक रहेको उल्लेख गरे।
कार्कीले विद्युत् खरिद सम्झौता (पीपीए) खुला गर्नुपर्ने, निजी क्षेत्रलाई विद्युत् व्यापार तथा प्रसारण लाइनमा सहभागी गराउनुपर्ने, तथा जलविद्युत् आयोजनाको समयमै आईपीओ जारी गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए।
त्यस्तै, आयोजना निर्माण र सञ्चालनका क्रममा सुरक्षा सुनिश्चितता, नीतिगत स्थिरता र प्रशासनिक सहजतामा सरकारले ध्यान दिनुपर्नेमा पनि उनले जोड दिए।
इप्पानका प्रतिनिधिहरूले नेपाललाई ऊर्जा विकासको दशक घोषणा गर्दै आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य हासिल गर्न निजी क्षेत्र र सरकारबीच सहकार्य अपरिहार्य रहेको बताएका छन्।

