काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले तिहार तथा छठपछिको अवधिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायबाट सम्पादन भएका प्रमुख कामको विवरण सार्वजनिक गरेको छ।
सरकारले भारतसँगको आर्थिक सहकार्य, जलविद्युत् आयोजना विकास, सार्वजनिक खरिद प्रणाली सुधार, सूचना प्रविधिमा विदेशी लगानी सहजीकरण, विपद् व्यवस्थापन तथा सरकारी सम्पत्तिको संरक्षणलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको कार्यसम्पादन विवरणअनुसार यस अवधिमा प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमणदेखि तल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढाउनेसम्मका काम भएका छन्।
विपद् उद्धार कोषमा १८ अर्ब ६२ करोड जम्मा
सरकारका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ रुपैयाँ जम्मा भएको छ।
उक्त रकममध्ये १ अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ।
त्यस्तै, जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको पुनर्स्थापना, जीवनयापन र सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेजको कार्यान्वयन प्रगति समीक्षा गरिएको छ।
सरकारले बाँकी काम शीघ्र सम्पन्न गर्न सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशन दिएको जनाएको छ।
यसैगरी, नेपाल जेनजी परिषद् गठन तथा सञ्चालनसम्बन्धी आदेशको मस्यौदा तयार गरी राय तथा परामर्शका लागि सम्बन्धित मन्त्रालयहरूमा पठाइएको छ।
तल्लो अरुणको पहिलो प्याकेजमा ११ अर्ब ४९ करोड भारुको ठेक्का
सरकारले ऊर्जा क्षेत्रतर्फ तल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्नुलाई महत्त्वपूर्ण कार्यसम्पादनका रूपमा उल्लेख गरेको छ।
सन् २०१९ को लगानी सम्मेलनमा प्रस्तुत गरिएको तल्लो अरुण जलविद्युत् परियोजना बीओओटी मोडलमा निर्माण गर्न विकासकर्ता छनोट गरिएको छ।
प्रधानमन्त्री शाहको मंसिर ६ र ७ गते सम्पन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले उक्त आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका थिए।
सरकारका अनुसार आयोजनाको पहिलो प्याकेज निर्माणका लागि ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँ बराबरको ठेक्का आह्वान गरिएको छ।
यसै अवधिमा भारत भ्रमणमार्फत दुई देशबीच उच्चस्तरीय भेटवार्ता तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको सरकारले जनाएको छ।
विदेशी आईटी कम्पनीलाई द्रुतमार्गबाट स्वीकृति दिने नीति बन्दै
सरकारले नेपाललाई सूचना प्रविधि आउटसोर्सिङ तथा सफ्टवेयर विकासको आकर्षक गन्तव्य बनाउने उद्देश्यले विशेष लगानी सहजीकरण नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ।
यसअन्तर्गत विदेशी प्रविधि कम्पनीलाई नेपालमा लगानी तथा व्यवसाय सञ्चालनका लागि द्रुतमार्गबाट स्वीकृति दिने व्यवस्था तयार गर्न लागिएको हो।
सूचना प्रविधि उद्योगमा विदेशी लगानी आकर्षित गर्ने, नयाँ प्रविधिमा आधारित व्यवसाय विस्तार गर्ने र नेपाललाई अन्तर्राष्ट्रिय आईटी सेवा प्रदायक मुलुकका रूपमा विकास गर्ने लक्ष्यसहित नीतिगत तयारी अघि बढाइएको जनाइएको छ।
त्यस्तै, राष्ट्रिय दूरसञ्चार नीति, २०८३ को मस्यौदामाथि विज्ञ तथा नीति प्रयोगशालाका पदाधिकारीबाट सुझाव संकलन गरी परिमार्जन प्रक्रिया अघि बढाइएको छ।
राष्ट्रिय साइबर सुरक्षा केन्द्रले संवेदनशील सूचना पूर्वाधारको पहिचान र संरक्षणसम्बन्धी कार्यशाला सम्पन्न गरेको छ। कार्यशालामा विभिन्न नियामक तथा सुरक्षा निकायका प्रतिनिधिबीच साइबर सुरक्षाका विषयमा छलफल भएको थियो।
नयाँ विद्युतीय खरिद प्रणाली सञ्चालन, एक महिनामै १ हजार ४५२ बोलपत्रदाता दर्ता
सार्वजनिक खरिद प्रणालीलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले सरकारले नयाँ विद्युतीय सरकारी खरिद प्रणाली (ई–जीपी) सञ्चालनमा ल्याएको छ।
सरकारका अनुसार उक्त प्रणालीमा कात्तिक महिनामा मात्रै १ हजार ४५२ बोलपत्रदाता र ४९५ सार्वजनिक निकाय दर्ता भएका छन्।
त्यसैगरी, निर्माण तथा परामर्श सेवा खरिदसम्बन्धी विभिन्न विषयमा २३ वटा सार्वजनिक निकायलाई आवश्यक राय तथा परामर्श प्रदान गरिएको छ।
सार्वजनिक खरिदमा संलग्न श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ समेत स्वीकृत गरी जारी गरिएको छ।
सार्वजनिक खरिद प्रक्रियामा प्रयोग हुने चारवटा मानक बोलपत्र तथा अन्य खरिदसम्बन्धी कागजात तयार गर्न परामर्शदातासँग सम्झौता गरी कार्यादेश दिइएको सरकारले जनाएको छ।
नेपाल ट्रष्टको १५ हजार रोपनी जग्गाको अध्ययन
सरकारले नेपाल ट्रष्टको स्वामित्वमा रहेका सम्पत्तिको संरक्षण तथा व्यावसायिक सदुपयोगका लागि पनि पहल अघि बढाएको जनाएको छ।
यसअन्तर्गत धादिङको छत्रे देउरालीस्थित करिब १५ हजार रोपनी क्षेत्रमा स्थलगत अनुगमन गरिएको छ।
उक्त सम्पत्तिको संरक्षण तथा व्यावसायिक उपयोगको सम्भावना अध्ययन गर्नुका साथै ट्रष्टको सम्पत्तिको दिगो उपयोगका लागि लिजसम्बन्धी नियमावली तयार गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ।
आयोजना र बजेटमा दोहोरोपना हटाउने तयारी
सरकारले संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने वार्षिक योजना, बजेट तथा कार्यक्रमबीच नीतिगत सामञ्जस्यता कायम गर्न अध्ययन प्रक्रिया अघि बढाएको छ।
तीनै तहका सरकारबाट सञ्चालन हुने आयोजनामा देखिएको दोहोरोपना हटाउन पछिल्ला तीन आर्थिक वर्षको तुलनात्मक अध्ययनको ढाँचा तयार गरिएको छ।
त्यस्तै, सरकारी निकायबाट सञ्चालन हुने सीपमूलक तालिमको गुणस्तर तथा प्रभावकारिता बढाउन र तीनै तहका सरकारका कार्यक्रमबीच दोहोरोपना हटाउन अध्ययन तथा सुझाव कार्यदल गठन गरिएको छ।
सरकारी कार्यालयको अनुगमनमा टोली परिचालन
सरकारले सार्वजनिक निकायमा कर्मचारीको आचारसंहिता पालना, सेवा प्रवाह र सेवाग्राही सन्तुष्टिको अवस्था अनुगमन गर्न विभिन्न जिल्लामा टोली परिचालन गरेको जनाएको छ।
सार्वजनिक निकायका प्राविधिक परीक्षण प्रतिवेदनमा औँल्याइएका बेरुजु तथा अनियमिततासम्बन्धी विषयको अनुगमन गर्न चितवन, मकवानपुर र सिन्धुलीमा प्राविधिक टोली परिचालन गरिएको छ।
यसैगरी, सदाचार शिक्षा तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
लामो समयदेखि अवरुद्ध रहेको सिंहदरबार प्रवेशद्वारको गेटपास प्रणाली पनि आवश्यक प्राविधिक सुधारपछि पुनः सञ्चालनमा ल्याइएको छ।
नीतिगत तयारी धेरै, कार्यान्वयनको नतिजा आउन बाँकी
सरकारले सार्वजनिक गरेको विवरणमा केही आयोजना र कार्यक्रम कार्यान्वयनको चरणमा पुगेका छन् भने केही विषय अझै नीतिगत तयारी, अध्ययन, मस्यौदा निर्माण तथा अन्तरनिकाय समन्वयकै चरणमा छन्।
विशेषगरी विदेशी प्रविधि कम्पनीलाई द्रुतमार्गबाट स्वीकृति दिने नीति, नेपाल ट्रष्टको सम्पत्ति व्यवस्थापन, तीन तहका सरकारको बजेट तथा कार्यक्रममा दोहोरोपना हटाउने अध्ययन र जेनजी परिषद् गठनसम्बन्धी विषय कार्यान्वयनको अन्तिम चरणमा पुगेको विवरणमा उल्लेख छैन।
यद्यपि, नयाँ ई–जीपी प्रणाली सञ्चालन, तल्लो अरुण आयोजनाको ठेक्का आह्वान, सार्वजनिक खरिदसम्बन्धी कार्यविधि जारी तथा विपद् व्यवस्थापन कोषमा रकम निकासाजस्ता कामलाई सरकारले यस अवधिका ठोस कार्यसम्पादनका रूपमा प्रस्तुत गरेको छ।
सरकारले सार्वजनिक गरेको यो विवरणले पछिल्लो अवधिमा अघि बढाइएका कामको अवस्था देखाए पनि ती कार्यक्रमबाट अर्थतन्त्र, लगानी, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा पर्ने वास्तविक प्रभाव भने आगामी कार्यान्वयन र उपलब्धिबाट स्पष्ट हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।