काठमाण्डौ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतको औपचारिक भ्रमणमा प्रस्थान गर्दा उनी सवार विमान अन्तर्राष्ट्रिय उडान ट्र्याकिङ प्लेटफर्म ‘फ्लाइट राडार २४’ मा विश्वभर सबैभन्दा बढी हेरिएको उडान बनेको छ।
आइतबार दिउँसो प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्दा उनको विमानको अवस्थिति र उडान मार्ग हेर्नेहरूको चासो उल्लेख्य रूपमा बढेको हो।
फ्लाइट राडार २४ को तत्कालीन विवरणमा प्रधानमन्त्री शाह सवार नेपाल एयरलाइन्सको एयरबस ए–३२० विमान विश्वमै सबैभन्दा बढी ट्र्याक भइरहेको उडानका रूपमा देखिएको रातोपाटीले जनाएको छ।
प्रधानमन्त्री सवार विमानको उडान नम्बर आरए २१७ र कल साइन आरएनए २१७ रहेको थियो।
उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ बजेर ४५ मिनेटमा उड्ने तालिका थियो। तर निर्धारित समयभन्दा २३ मिनेट ढिलो अर्थात् दिउँसो २ बजेर ८ मिनेटमा नयाँ दिल्लीका लागि उडेको हो।
प्रधानमन्त्री शाहको भारत भ्रमणप्रति देखिएको सार्वजनिक चासो उडान ट्र्याकिङमा समेत प्रतिबिम्बित भएको देखिएको छ।
फ्लाइट राडार २४ विमानहरूको वास्तविक समयको अवस्थिति, गति, उचाइ तथा उडान मार्गलगायतका विवरण हेर्न सकिने अन्तर्राष्ट्रिय प्लेटफर्म हो। यसले विश्वभरका उडानसम्बन्धी जानकारी विभिन्न स्रोतबाट सङ्कलन गरी डिजिटल नक्सामा देखाउँछ।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका हुन्। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसमेत सहभागी छन्।
प्रधानमन्त्रीको भ्रमणसँगै उनको विमानसमेत विश्वव्यापी उडान निगरानी प्लेटफर्ममा सर्वाधिक हेरिने उडान बन्नु चासोको विषय बनेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।