आईतवार, मंसिर ६,२०८३ 03:37:53
  • आईतवार, मंसिर ६,२०८३ 03:37:53
Global IME Bank Limited

सुनको भाउमा धक्का, व्यापारमा झट्का : व्यवसायी भन्छन्– 'आत्तिनुपर्ने अवस्था छैन'

Bizshala
सुनको भाउमा धक्का, व्यापारमा झट्का : व्यवसायी भन्छन्– 'आत्तिनुपर्ने अवस्था छैन'
New Office

–सुजता थापा 

 

काठमाण्डौ। तिहारपछि सुनको मूल्यमा लगातार पहिरो गइरहेको छ। प्रतितोला सुनको मूल्य झन्डै ४२ हजार रुपैयाँले घटिसक्दा पनि बजारमा अपेक्षित किनमेल बढ्न सकेको छैन। बरु सुनचाँदी व्यवसायीहरू मूल्यमा आएको तीव्र उतारचढावका कारण दोहोरो मारमा परेका छन्।

एकातिर महँगो मूल्यमा खरिद गरेर राखेको सुनको मूल्य घट्दा व्यवसायीलाई घाटाको जोखिम बढेको छ भने अर्कोतर्फ सुन अझै सस्तिने आशामा ग्राहकहरूले खरिद निर्णय पछाडि सारिरहेका छन्।

तिहारअघि प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ रहेको सुनको मूल्य मंसिर ७ गतेसम्म आइपुग्दा २ लाख ४२ हजार ६०० रुपैयाँमा झरेको व्यवसायीहरूले उपलब्ध गराएको विवरणमा उल्लेख छ।

यो अवधिमा सुनको मूल्य प्रतितोला ४१ हजार ७०० रुपैयाँ अर्थात् १४.६७ प्रतिशतले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावट, अमेरिकी डलरको मजबुती, अमेरिकामा ब्याजदर बढ्न सक्ने अपेक्षा तथा लगानीकर्ताहरूले नाफा सुरक्षित गर्न सुन बिक्री गर्न थालेको प्रभाव नेपाली बजारमा समेत परेको छ।

तर, मूल्य घट्दा सुनको माग बढ्नुपर्ने सामान्य अपेक्षाविपरीत अहिले बजारमा ग्राहकको चहलपहल नै घटेको व्यवसायीहरू बताउँछन्।

बिजशालासँग कुराकानी गरेका काठमाण्डौको पेप्सीकोला क्षेत्रका सुनचाँदी व्यवसायीहरूले दैनिक कारोबार २५ देखि ५० प्रतिशतभन्दा बढीले घटेको बताएका छन्।

ग्राहक पर्ख र हेरको अवस्थामा, पुरानो सुन बेच्नेको चाप

पेप्सीकोलास्थित सीता ज्वेलर्सका सञ्चालक रमेश कार्कीका अनुसार पछिल्लो समय पसलमा ग्राहकको चहलपहल उल्लेख्य रूपमा घटेको छ। उनले दैनिक बिक्री ३० देखि ३५ प्रतिशतसम्म घटेको जानकारी दिए।

‘ग्राहकहरू सुनको भाउ अझै घट्छ भन्ने आशामा छन्। मूल्य बुझ्न आउँछन् तर तत्काल किन्न चाहँदैनन्,’ उनले भने।

कार्कीका अनुसार अहिले नयाँ गहना खरिद गर्नेभन्दा पुरानो सुन बेच्न वा साट्न आउने ग्राहकको सङ्ख्या बढी छ। विवाह तथा अन्य सामाजिक समारोहका लागि गहना खरिद गर्नेहरूले समेत पहिलेको तुलनामा कम तौलका गहना रोज्न थालेका छन्। महँगोमा किनेर राखेको सुनको मूल्य घट्दा व्यवसायीले स्टकमा समेत घाटा बेहोर्नुपर्ने जोखिम बढेको उनको भनाइ छ।  

पेप्सीकोलाकै श्रेष्ठ सुनचाँदी पसलकी सञ्चालक सरिता श्रेष्ठको अनुभव पनि उस्तै छ।उनका अनुसार दैनिक बिक्री हुने सुनको परिमाण २५ देखि ३० प्रतिशतसम्म घटेको छ।

सुन सस्तिएको समाचार सार्वजनिक भएपछि ग्राहकको सोधपुछ बढ्ने गरे पनि खरिद गर्ने ग्राहकको सङ्ख्या भने अपेक्षाअनुसार बढ्न नसकेको उनले बताइन्। ‘भाउ अझै घट्छ कि भन्ने सोचेर धेरै ग्राहकले किन्ने निर्णय सारिरहेका छन्,’ उनले भनिन्।

उनका अनुसार विवाह तथा व्रतबन्धका लागि गहना खोज्ने ग्राहकले पनि कम तौलका औँठी, लकेट र तिलहरी रोज्न थालेका छन्।

CG Motors
Garima Development Bank
IME remit

महँगोमा किनेको सुन सस्तियो, व्यवसायीलाई घाटाको डर !

विश्वकर्मा ज्वेलरी हाउसका सञ्चालक दीपक विश्वकर्माका अनुसार सुनको मूल्यमा आएको तीव्र गिरावटले व्यवसायीलाई प्रत्यक्ष आर्थिक दबाब सिर्जना गरेको छ।

उनले आफ्नो पसलको कारोबार ३५ देखि ४० प्रतिशतसम्म घटेको जानकारी दिए।

‘महँगोमा खरिद गरेको सुनको भाउ अचानक घट्दा घाटा हुन्छ। नयाँ सुन खरिद गर्न पनि कठिन भइरहेको छ,’ उनले भने।

उनका अनुसार कारोबार घटेपछि पसल भाडा, कर्मचारीको तलब तथा अन्य नियमित सञ्चालन खर्च धान्नसमेत चुनौती थपिएको छ।

सौन्दर्य जेम्स एन्ड ज्वेलरीका सञ्चालक कुमार गहतराजले भने कारोबारमा ५० प्रतिशतभन्दा बढी गिरावट आएको बताएका छन्।

उनका अनुसार सुनको मूल्यमा दैनिक ७ हजारदेखि १५ हजार रुपैयाँसम्म उतारचढाव हुँदा व्यवसायीहरूले ठूलो आर्थिक जोखिम बेहोर्नुपरेको छ।

महँगोमा खरिद गरेको सुनको मूल्य घट्दा बैंक ऋण तथा ओभरड्राफ्टमार्फत व्यवसाय सञ्चालन गर्नेहरू थप दबाबमा परेका छन्।

‘विवाहको सिजन सुरु भइसक्यो। तर, नयाँ गहना किन्ने ग्राहक अपेक्षाअनुसार बढ्न सकेका छैनन्,’ गहतराजले भने।

मूल्य मात्रै होइन सुनको आपूर्तिमा पनि समस्या 

कृष्ण ज्वेलर्सका सञ्चालक पिताम्बर भट्टराईले सुनको मूल्यमा देखिएको अस्थिरतासँगै आपूर्तिमा समेत समस्या रहेको बताए।

उनका अनुसार मूल्य अझै घट्ने आशामा ग्राहकहरूले खरिद स्थगित गर्दा दैनिक कारोबार ठप्पजस्तै हुन थालेको छ।

घाटा भए पनि पुरानो सुनको खरिद तथा नियमित कारोबारलाई निरन्तरता दिनुपरेको उनको भनाइ छ।

भट्टराईले बैंकमार्फत वितरण हुने सुनको कोटा पारदर्शी नभएको गुनासोसमेत गरे।

त्यसैगरी, सरकारले लगाएको ०.५ प्रतिशत अतिरिक्त करले व्यवसायी र ग्राहक दुवैलाई समस्या पारेको उनको दाबी छ।

व्यवसायीहरूले सुनको सहज आपूर्ति, पारदर्शी वितरण प्रणाली र करमा सहुलियतको माग गरेका छन्।

सबै व्यवसायी निराश छैनन्, केहीको अर्डरमा सुधार

सुनको मूल्यमा आएको गिरावटले सबै व्यवसायीलाई एकै किसिमको असर भने पारेको छैन।

पेप्सीकोलास्थित द्रौपदी ज्वेलरीका सञ्चालक कर्णबहादुर विश्वकर्माका अनुसार पछिल्ला दिनमा ग्राहकको सोधपुछ र गहना बनाउने अर्डरमा केही सुधार देखिएको छ।

उनका अनुसार दैनिक ८ देखि १० जनासम्म ग्राहक सुनको मूल्य बुझ्न पसल आउने गरेका छन्।

मंसिरको विवाह सिजनका कारण गहना बनाउने अर्डर राम्रै आए पनि धेरै ग्राहक अझै मूल्य घट्ने प्रतीक्षामा रहेको उनले बताए।

ग्राहकलाई आकर्षित गर्न ज्याला–जर्तीमा सहुलियत दिइरहेको उनको भनाइ छ।

उनले सुनमा अतिरिक्त रकम जोडेर बिक्री गर्ने प्रवृत्ति नियन्त्रण गर्नुपर्नेमा समेत जोड दिए।

‘सुनको मूल्य लगातार क्र्यास हुनु अस्वाभाविक, तर आत्तिनुपर्दैन’

नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रवक्ता जीवनज्योति सदाशंकरले अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर मजबुत बन्दा सुनको मूल्यमा उतारचढाव आएको बताएका छन्।

उनका अनुसार सुनको बजारमा अहिले देखिएको तीव्र गिरावट सामान्य अवस्थाभन्दा फरक देखिए पनि व्यवसायीहरू आत्तिनुपर्ने अवस्था छैन।

‘बजारमा यसरी सुनको भाउ लगातार क्र्यास हुनु अस्वाभाविकजस्तै देखिएको छ। तर, आत्तिहाल्नुपर्ने अवस्था छैन,’ उनले भने।

सदाशंकरले सुनको बजार स्थिर हुनुपर्नेमा जोड दिँदै आगामी केही साताभित्र मूल्यमा स्थिरता आउन सक्ने अपेक्षा व्यक्त गरे।

उनले सुनको मूल्य घट्दैमा व्यवसायीहरूले आफ्नो मनोबल कमजोर बनाउन नहुने बताए।

‘सुनको मूल्यमा देखिएको उतारचढावलाई सामान्य रूपमा लिनुपर्छ। व्यवसायीहरूले मनोबल कमजोर बनाउनु हुँदैन,’ उनको भनाइ छ।

सुन सस्तिँदा पनि ग्राहक किन किन्न तयार छैनन् ?

सुनको मूल्य घट्दा सामान्यतया ग्राहकको आकर्षण बढ्नुपर्ने हो। तर, अहिले बजारमा ठीक उल्टो प्रवृत्ति देखिएको व्यवसायीहरूको अनुभव छ।

यसको मुख्य कारण मूल्य अझै घट्न सक्ने अपेक्षा हो।

जब कुनै वस्तुको मूल्य लगातार घट्न थाल्छ, ग्राहकले तत्काल खरिद गर्नुभन्दा केही समय पर्खिएर अझ सस्तो मूल्यमा किन्न खोज्छन्। अहिले सुन बजारमा पनि त्यस्तै मनोविज्ञान देखिएको छ।

यसले माग तत्काल बढ्न नदिने मात्र होइन, बजारमा खरिद निर्णय स्थगित हुने अवस्था सिर्जना गरेको छ।

अर्कोतर्फ व्यवसायीहरूले महँगोमा खरिद गरेको स्टकको मूल्य घटिरहेको छ। नयाँ सुन खरिद गर्न आवश्यक पूँजी जुटाउनुपर्ने र पुरानो स्टकमा सम्भावित घाटा बेहोर्नुपर्ने दोहोरो चुनौती उनीहरूसामु छ।

यसरी सुनको मूल्य घट्दा ग्राहकलाई राहत मिल्ने सम्भावना हुँदाहुँदै पनि मूल्यको अस्थिरताले व्यवसायीको कारोबारमा उल्टै दबाब सिर्जना गरेको छ।

व्यवसायीहरूको अनुभवले अहिले सुन बजारको प्रमुख समस्या मूल्य उच्च हुनु मात्र नभई मूल्य कुन दिशामा जान्छ भन्ने अनिश्चितता पनि रहेको देखाउँछ।

तिहारयता सुन प्रतितोला ४१ हजार ७०० रुपैयाँले सस्तिएको छ। तर, सुनको भाउ जति तीव्र गतिमा घटिरहेको छ, ग्राहकको खरिद उत्साह त्यही अनुपातमा बढ्न सकेको छैन।

त्यसैले सुनचाँदी व्यवसायीहरूका लागि अहिलेको सबैभन्दा ठूलो चुनौती घट्दो मूल्य मात्रै होइन, मूल्य स्थिर हुने समयसम्म व्यवसायलाई कसरी टिकाइराख्ने भन्ने पनि बनेको छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.