काठमाण्डौ। एनसेल फाउन्डेसनले भोटेकोशी बाढीबाट क्षतिग्रस्त नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको पठनपाठन पुनःसञ्चालनका लागि शैक्षिक पूर्वाधार सहयोग गर्ने भएको छ।
गत भदौमा भोटेकोशी नदीमा आएको बाढीले ठूलो क्षति पुर्याएको क्याम्पसलाई सहयोग गर्न फाउन्डेसनले विदुर नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो।
समझदारीपत्रमा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र एनसेल फाउन्डेसनकी निर्देशक विशाखा लक्ष्मी खड्काले हस्ताक्षर गरेका छन्।
बाढीका कारण क्याम्पसका भौतिक संरचनामा व्यापक क्षति पुग्दा ३०० भन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको थियो। अब एनसेल फाउन्डेसनले नगरपालिका र क्याम्पस व्यवस्थापनसँगको सहकार्यमा ३२ वटा कक्षाकोठाका लागि आवश्यक भौतिक पूर्वाधार, कम्प्युटर तथा फर्निचरलगायतका सामग्री उपलब्ध गराउनेछ।
यस सहयोगबाट बाढीका कारण अवरुद्ध पठनपाठन पुनःसञ्चालन भई विद्यार्थीहरू नियमित कक्षामा फर्कन सक्ने अपेक्षा गरिएको छ।
विदुर नगरपालिकाका मेयर श्रेष्ठले क्याम्पस सञ्चालनका लागि अत्यावश्यक शैक्षिक पूर्वाधारमा सहयोग गर्न लागेकोमा एनसेल फाउन्डेसनप्रति आभार व्यक्त गरेका छन्। उनले नगरपालिकाका अन्य क्षेत्रमा समेत शैक्षिक सहयोग विस्तार गर्न सहकार्य गर्ने इच्छा व्यक्त गरे।
एनसेल फाउन्डेसनकी निर्देशक खड्काले बाढी प्रभावित क्षेत्रका विद्यालय तथा क्याम्पसलाई सहयोग गर्ने प्रतिबद्धता जनाइन्। स्थानीय निकाय र समुदायसँगको सहकार्यमा आवश्यकता पहिचान गरी थप शैक्षिक संस्थामा सहयोग विस्तार गरिने उनको भनाइ छ।
यसअघि एनसेल फाउन्डेसनले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको थियो।
फाउन्डेसनका अनुसार शैक्षिक पूर्वाधार सहयोग कार्यक्रम साझेदार संस्था कर्मयोग फाउन्डेसनमार्फत कार्यान्वयन हुनेछ। दुवै संस्थाले स्थानीय सरकार र समुदायसँग मिलेर बाढी प्रभावित क्षेत्रमा थप विद्यालय तथा क्याम्पसहरूको आवश्यकता मूल्याङ्कन गरी सहयोग विस्तार गर्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।