काठमाण्डौ । कोभिड महामारीपछि नेपालबाटै दूरस्थ रूपमा काम गरिरहेका प्रमेज ‘पीजे’ श्रेष्ठले यहाँका युवा पेशाकर्मीसँग कुराकानी गर्दा एउटा साझा समस्या सुने । उनीहरूसँग सीप थियो, तर अन्तर्राष्ट्रिय करिअर बनाउन विदेश जानुपर्ने ठान्थे । उता, अस्ट्रेलियाका कतिपय साना तथा मझौला व्यवसायलाई आफ्नो काम विस्तार गर्न दक्ष जनशक्ति चाहिएको थियो । यी दुई आवश्यकतालाई जोड्ने गरी श्रेष्ठले ‘डिजिटल कन्सल्टिङ भेन्चर्स’ स्थापना गरे ।
नेपाल र अस्ट्रेलियाबीच व्यवसाय तथा समुदायमार्फत सहकार्य बढाएका नेपाली मूलका अस्ट्रेलियाली उद्यमी श्रेष्ठलाई अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) ले सन् २०२६ को ‘ग्लोबल कनेक्सन अलम्नाइ अवार्ड’ प्रदान गरेको छ । विभिन्न संस्कृतिबीच आपसी समझदारी र अन्तर्राष्ट्रिय सहकार्य बढाउन योगदान दिने पूर्वविद्यार्थीलाई विश्वविद्यालयले यो सम्मान दिन्छ । श्रेष्ठले त्यही विश्वविद्यालयबाट सन् २०१५ मा वाणिज्य विषयमा स्नातक गरेका थिए ।
नेपाल र फिलिपिन्सका पेशाकर्मीलाई विदेशी ग्राहकसँग जोड्दै
श्रेष्ठ संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रहेको डिजिटल कन्सल्टिङ भेन्चर्सले नेपाल र फिलिपिन्सका दक्ष पेशाकर्मीलाई प्रत्यक्ष रोजगारी दिन्छ । उनीहरूले आफ्नै देशमा बसेर अस्ट्रेलियासहित विभिन्न मुलुकका कम्पनी र संस्थासँग काम गर्छन् । यसबाट साना तथा मझौला व्यवसायले आफ्नो काम विस्तार गर्न आवश्यक जनशक्ति पाउँछन् भने पेशाकर्मीले विदेश नगई अन्तर्राष्ट्रिय ग्राहकसँग काम गर्ने अनुभव हासिल गर्छन् ।
एसीयूको ‘इम्प्याक्ट’ प्रकाशनसँग श्रेष्ठले सन् २०३० सम्म उदीयमान अर्थतन्त्रहरूमा कम्तीमा ५०० जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य सुनाएका छन् । कम्पनीले भारतमा पनि व्यवसाय विस्तार गर्ने योजना बनाएको छ । नेपाली पेशाकर्मीका लागि यो मोडलले सीप र सेवा विदेशमा बेच्न भौतिक रूपमा त्यहीँ पुग्नुपर्ने बाध्यता घटाउन सक्छ ।
युवा नेतृत्वदेखि अस्ट्रेलियाको संघीय चुनावसम्म
श्रेष्ठले विश्वविद्यालयमा पढ्दै गर्दा नेपाली मूलका अस्ट्रेलियाली युवालाई पेशागत सञ्जाल बनाउन र करिअर अघि बढाउन सहयोग गर्ने उद्देश्यले ‘नेपाली युथ लिडरसिप फोरम’ स्थापना गरेका थिए । त्यसयता उनले युवा तथा उद्यमीलाई मार्गदर्शन गर्नुका साथै नेपाल र अस्ट्रेलियाका व्यवसायी, सरकारी प्रतिनिधि र समुदायका अगुवालाई जोड्ने काम गरेका छन् ।
सन् २०१९ मा उनी अस्ट्रेलियाको संघीय निर्वाचनमा न्यु साउथ वेल्सको बार्टन क्षेत्रबाट लिबरल पार्टीका उम्मेदवार बने । अस्ट्रेलियाली निर्वाचन आयोगका अनुसार उनले पहिलो प्राथमिकतामा ३० हजार १०९ मत अर्थात् ३३.४९ प्रतिशत मत पाए । सो क्षेत्रमा अस्ट्रेलियन लेबर पार्टीकी लिन्डा बर्नी पुनः निर्वाचित भइन् ।
भोटेकोशी बाढीपछिको काम अस्ट्रेलियाली सिनेटमा उल्लेख
सन् २०२६ को अगस्ट २६ मा भोटेकोशी क्षेत्रमा आएको बाढीपछि श्रेष्ठ नेपालमै रहेर पुनर्स्थापनाका लागि स्रोत जुटाउन र सहयोग संकलन गर्न समन्वयमा खटिएका थिए । अस्ट्रेलियाली सिनेटर एन्ड्र्यु ब्रागले सेप्टेम्बर ८ को सिनेट बैठकमा श्रेष्ठको भूमिकाको उल्लेख गरेका थिए । ब्रागले दक्षिणपश्चिम सिड्नीमा नेपाली समुदायसँग भेट्दा बाढीपछि खोजी, स्वास्थ्य सेवा र पुनर्स्थापनाका लागि आवश्यक स्रोतबारे चासो उठेको पनि बताएका थिए ।
श्रेष्ठ आफ्नो करिअरको दिशा पहिल्याउन विश्वविद्यालयका शिक्षक र करिअर परामर्श टोलीले सघाएको सम्झन्छन् । ‘मैले आफूमाथि विश्वास गर्नुअघि नै उहाँहरूले ममाथि विश्वास गर्नुभएको थियो,’ उनले एसीयूको ‘इम्प्याक्ट’सँग भनेका छन् । आफूले विद्यार्थी हुँदा पाएको त्यही सहयोगले पछि अरू युवाका लागि अवसर सिर्जना गर्ने काममा प्रेरित गरेको उनी बताउँछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।