काठमाण्डौ । मंसिर ५ गते शनिबार बिहान काठमाण्डौका बाक्ला घरबीचबाट घाम सडकमा झर्दै थियो । बालुवाटारस्थित गरिमा विकास बैंकको केन्द्रीय कार्यालय अगाडि भने चहलपहल सुरु भइसकेको थियो । सडकमा गायकहरू प्रस्तुति दिइरहेका थिए । गीतसँगै उठेको हुटिङबीच धावकहरू दौड सुरु हुने प्रतीक्षामा थिए ।
दौड सुरु भएपछि त्यही भीड दुई फरक दूरी तय गर्न अघि बढ्यो । पाँच किलोमिटर दौडनेहरू बाँसबारीको न्युरो अस्पताल पुगेर फर्किए । १० किलोमिटर दौडनेहरूको फर्कने बिन्दु भने बूढानीलकण्ठ नगरपालिका–३ को वडा कार्यालय परिसर थियो । दुवै समूहको दौड बालुवाटारबाटै सुरु भएर त्यहीँ टुंगियो ।

यो दृश्य गरिमा विकास बैंकले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवमा आयोजना गरेको ‘गरिमा रोड रेस २०८३’ को हो । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित आयोजित दौडको तेस्रो संस्करणमा खुला र कर्पोरेट विधा गरी १२०० भन्दा बढी धावक सहभागी भए ।

सुरुआती बिन्दु एउटै भए पनि दुई विधाको दूरी र सहभागिताका नियम फरक थिए । खुलातर्फ महिला र पुरुष दुवै समूहले १० किलोमिटर दौडे । कर्पोरेटतर्फ दुवै समूहका लागि पाँच किलोमिटर दूरी तोकिएको थियो । कर्पोरेट दौडमा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक, बीमा कम्पनी तथा भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालक संस्थाका स्थायी कर्मचारीले भाग लिन पाउने व्यवस्था थियो ।
दुवै विधामा महिला र पुरुष समूहका शीर्ष पाँच धावकले नगद पुरस्कार पाए । खुलातर्फ पहिलोदेखि पाँचौँ स्थानसम्म क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरियो । कर्पोरेटतर्फ सोही क्रमअनुसार ३० हजार, २० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ दिइयो । दौड पूरा गर्ने धावकका लागि पदक र प्रमाणपत्रको पनि व्यवस्था थियो ।

स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने, खेलकुदप्रति जनचेतना बढाउने र धावकको प्रतिभालाई अवसर दिने उद्देश्यले बैंकले २०८१ सालमा यो प्रतियोगिता सुरु गरेको हो । तेस्रो संस्करणसम्म आइपुग्दा बैंकको वार्षिकोत्सवको एउटा बिहानले खुला विधाका धावक र वित्तीय क्षेत्रका कर्मचारीलाई बालुवाटारको एउटै सुरुआती रेखामा उभ्यायो ।

गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय प्रत्येक वर्ष बैंकले आयोजना गर्ने गरिमा रोड रेस र यससँग सम्बन्धित आगामी योजनाको विषयमा बिजशालासँग कुरा गर्दै प्रत्येक वर्षको कार्यक्रममा धावकहरुको आकर्षण बढिरहेकोमा खुशी प्रकट गरे । बैंकले खेलकूदको प्रवद्र्धनका लागि प्रत्येक वर्ष सिग्नेचर कार्यक्रमका रुपमा रोड रेस आयोजना गरिरहेको र आगामी वर्ष यसलाई थप परिस्कृत र वृहत पार्दै लगिने बताए । 'गरिमा विकास बैंकप्रति सर्वसाधारण, सेयरधनी, सरोकारवालाहरुले जसरी विश्वास गर्नुभएको छ, हामीले विगत तीन वर्षदेखि आयोजना गरिरहेको रोड रेसलाई पनि उत्तिकै विश्वास गर्नुभएको हामीले पाएका छौं ।' उपाध्यायले भने-'हामी धावक, खेलाडी तथा शुभेच्छुकहरुले गर्नुभएको विश्वासप्रति नतमस्तक छौं । रेड रेसलाई झै बैंकलाई समेत थप परिस्कृत गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउँछौं ।'



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।